२४ मंसिर, काठमाडौं । संक्रमणकालीन न्यायका दुई आयोगको पदाधिकारीका लागि पूर्वप्रधानन्यायाधीश ओमप्रकाश मिश्र नेतृत्वको आयोगले प्रकाशित गरेको सम्भावित श्रेष्ठसूचीप्रति तीनजना नागरिक अगुवाले आपत्ति जनाएका छन् ।

सोमबार एक विज्ञप्ति जारी गर्दै नागरिक अगुवाहरू सुशील प्याकुरेल, मोहना अन्सारी, कनकमणि दीक्षितले श्रेष्ठसूची सच्याउन माग समेत गरेका छन् ।

अहिलेका सम्भावित उम्मेदवार कसैको नेतृत्वमा पनि गठन गरिने आयोगहरू विश्वसनीय नहुने उनीहरूले विज्ञप्तिमा जनाएका छन् ।

संक्रमणकालीन न्यायका विषयबारे परिचित, विगतमा विवादमा नपरेका तथा द्वन्द्वपीडित समुदायले विश्वास गर्ने व्यक्तिको नाम छनौट गर्न मानव अधिकार समुदायले सुझाव दिँदै आएको विज्ञप्तिमा उल्लेख छ ।

‘शीर्ष राजनीतिक नेतृत्वले दुई आयोगका अध्यक्षका लागि चाहेको बुझिएका दुई व्यक्ति विशेषको नियुक्तिमा पनि विश्वसनीयताको प्रश्न उठ्ने नै छ,’ विज्ञप्तिमा भनिएको छ, ‘यसरी चयन भएको आयोगहरूलाई मानव अधिकार र द्वन्द्वपीडित समुदायको सहयोग हुने छैन, हाम्रो बुझाईमा ।’

सङ्क्रमणकालीन न्याय संयन्त्रहरूमा पदाधिकारीको छनौट प्रक्रिया पुनः सुरु गर्दै श्रेष्ठसूची प्रकाशन गर्न उनीहरूले माग गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0