३० मंसिर, चितवन । गृहमन्त्री रमेश लेखकले पूर्वप्रधानमन्त्री एवम् माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सहकारी ठगी मुद्दामा पक्राउ परेका रवि लामिछाने माथि गरेको पछिल्लो टिप्पणी दुर्भाग्यपूर्ण भएको बताएका छन् ।
चितवनको भरतपुरमा नेपाल प्रेस युनियनले गरेको पत्रकार सम्मेलनमा गृहमन्त्री लेखकले प्रचण्डको टिप्पणी अदालत र देशको कानुनलाई प्रभावित बनाउने खालको भएको बताए ।
सरकारले कसैमाथि पनि प्रतिशोधपूर्ण व्यवहार नगरेको दाबी गर्दै गृहमन्त्री लेखकले कानुनले तोकेको समयभन्दा बढी कसैलाई पनि थुनामा नराखेको र अदालतले दिएको समयभित्र अनुसन्धान गरी अदालतमा नै पेस गरेको बताए ।
पूर्वप्रधानमन्त्री प्रचण्डले केही समय अगाडि सामाजिक सञ्जाल फेसबुकमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापतिसमेत रहेका लामिछाने माथि सरकारले प्रतिशोधपूर्ण व्यवहार गरेको टिप्पणी गरेका थिए । प्रचण्डको उक्त अभिव्यक्तिलाई गृहमन्त्री लेखकले न्यायिक प्रकृयालाई प्रभावित गर्ने र अनुसन्धानलाई अवरुद्ध गर्ने प्रयत्नका रूपमा अर्थाए ।
चितवनको भरतपुरमा २५ मंसिरमा भएको कोण सभामा पनि उनले लामिछानेको बचाउ गर्दै सरकारले एकपक्षीय रूपमा व्यवहार गरेको बताएका थिए । चितवनबाट पोखरा लैजाँदा लामिछाने माथि अमानवीय व्यवहार गरिएको भनेर गरिएको आलोचनामा कुनै पनि सत्यता नरहेको गृहमन्त्री लेखकको प्रष्टीकरण थियो ।
‘२ कात्तिकमा पक्राउ पर्दा उहाँ आफैंले गाडीमा राति नै पोखरा जान्छु भन्नुभयो, प्रहरीले जहाजमा लैजान्छु भन्दा मान्नु भएन, काठमाडौंबाट राति पोखरा जाँदा ठिक हुने, चितवनबाट पोखरा जाँदा अमानवीय व्यवहार भयो भन्नुमा कुनै सत्यता छैन,’ गृहमन्त्री लेखकले भने, ‘प्रहरीले लामिछाने माथि कुनै पनि अमानवीय व्यवहार गरेको छैन, हरेक नागरिकको मानव अधिकारप्रति सरकार सचेत छ, कसैलाई पनि फरक व्यवहार गर्दैन । ’