३ पुस, काठमाडौँ। प्रधानमन्त्री केपी शर्मा ओलीले राजनीतिक अन्योल, अस्थिरता र भ्रष्टाचारले सीमा नाघेपछि दुई ठूला दलको सहकार्यमा नयाँ सरकार बनाउनु परेको बताएका छन् ।
नेपाल उत्पीडित जातीय मुक्ति समाजको ३७औँ स्थापना दिवसका अवसरमा आयोजित कार्यक्रममा बोल्दै प्रधानमन्त्री ओलीले अघिल्लो सरकारतर्फ लक्ष्य गर्दै कमिलाको आयु पुग्यो भने पखेटा पलाउँछ भने झैँ मुलुकका एमाले र काँग्रेसजस्ता पार्टी हुँदाहुँदै कस कसका के के नाँच चलेका हुन् भनेर जनताले भन्न थालेपछि स्थिरतातर्फ देशलाई फर्काउन आफूहरुले नयाँ सरकार बनाएको स्पष्ट गरे।
‘हामी सुशासन र विकास फेरि फर्काएर मुलुकलाई गन्तव्यमा लानेछौँ । हाम्रो सरकारलाई सराप्नेहरु पनि नभएका होइनन् । सरकार अहिले ढल्छ, भरे ढल्छ भनेर धारे हात लगाउनेहरु छन्।’, प्रधानमन्त्री ओलीले भने, ‘यी दुई पुराना पार्टीले समाज सुधारको यात्रा सञ्चालन गर्दै आएक छन् । राजाका पालामा अनेक मुद्धा मामिला लगाएर जनतालाई फसाउने, जातीय विद्वेष फैलाउने काम भएका थिए । हामी मानिस हौँ र मानिस भनेको सबै बराबर हुन्छ । जातपात भन्ने नचाहिने कुरा हो । यसको अन्त्यका लागि हामी विद्यमान कानुनमा आवश्यक संशोधनका लागि पनि लाग्नेछौँ।’
प्रधानमन्त्री ओलीले जातीय छुवाछुत र साम्प्रदायिकता घृणास्पद कार्य तथा समाज विकासको ऐजेरु भएकाले यसलाई फेदैमा उखेलेर फाल्न अहिलेको सरकार तत्पर रहेको र जातीय उत्पीडनको काँडा निकाल्न लागिपर्ने बताए ।
असमानता, अन्याय, छुवाछूत र दुःख भोगेर कोही सुख हुन नसक्ने र सुखी हुन असमानता र छुवाछुत हटाउनुपर्नेमा जोड दिँदै प्रधानमन्त्री ओलीले संविधानमा आफूहरुले त्यही भएर सामाजिक न्याय र समानताको व्यवस्था गरिएको बताए।
‘मान्छे एउटै हो । जन्मदै कोही पनि श्रेष्ठ हुँदैन । जन्मदै श्रेष्ठ वा ठुलो जातको हो भनिनु मान्य हुँदैन । सरकारले त्यस्ता कुराहरुलाई मान्यता दिँदैन।’ प्रधानमन्त्री ओलीले भने ।
कार्यक्रममा नेपाली काँग्रेसका सभापति एवं पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले जातीय समानताको स्थापनाका लागि संविधान र कानुनको पालनाका साथै सामाजिक सुधारका लागि पनि लाग्नुपर्नेमा जोड दिए।