५ पुस, काठमाडौं । नेता भीम रावलले भावी राजनीतिबारे आफू गहन अध्ययनमा रहेको बताएका छन् ।
एकीकृत समाजवादीका कतिपय नेताहरूले रावललाई पार्टीमा भित्¥याउने प्रयास गरिरहेका बेला उनले आफू त्यस्तो छलफलमा नरहेको बताए ।
‘म सुदूरपश्चिम भ्रमण सकेर काठमाडौं फर्किएको छु । कुनै पनि दलका नेतासँग त्यसप्रकार (एकता वा प्रवेश)को छलफलमा छैन । अन्य पार्टीमा के कस्ता छलफल भए त्यो पनि मेरो जानकारीमा रहने कुरा भएन,’ रावलले अनलाइनखबरसँग भने ।
तथापि, भावी राजनीतिबारे आफू गहन अध्ययन र विश्लेषणमा रहेको उनले बताए ।
नेता रावल भन्छन्, ‘म सम्पूर्ण परिस्थितिको गहन अध्ययन र विश्लेषणमा छु । विभिन्न पक्ष र नेतासँग परामर्श पनि गरिरहेको छु । तर, कुनै निर्णय गरिसकेको छैन ।’
२०७८ साल मंसिरमा सम्पन्न एमालेको दशौं महाधिवेशनमा रावल केपी शर्मा ओलीसँग अध्यक्ष पदमै प्रतिस्पर्धामा उत्रिएका थिए । पराजित भएपछि रावल एमालेमा भूमिकाविहीन छन् ।
नवौं महाधिवेशनमा भने रावल उपाध्यक्षमा निर्वाचित भएका थिए । दशौं महाधिवेशनसम्म पुग्दा एमाले विभाजन भएर माधव कुमार नेपालको नेतृत्वमा नेकपा एकीकृत समाजवादी बनिसकेको थियो ।
एकीकृत समाजवादी बन्नु अगाडि रावल माधव नेपाल नजिक थिए । माधव नेपालले एमालेभित्रको तत्कालीन समस्या समाधान गर्नका लागि भनेर रावललाई नै वार्ता समितिको नेतृत्व दिएका थिए ।
तर, माधव नेपाल पार्टी फुटाउने निर्णयमा पुगेपछि रावल १० बुँदे सहमति गरेर एमालेमै बसेका थिए । एमालेमा भूमिका नपाएका रावललाई एकीकृत समाजवादीमा भित्¥याउने प्रयास विगतदेखि नै नेताहरूले गर्दै आएका हुन् । तर, रावलले यस सम्बन्धमा कुनै निर्णय दिएका छैनन् ।