कोशी पर्यटन वर्ष-२०८२ को सचिवालय स्थापना गरिएको छ। आइतबार कोशी प्रदेशको पर्यटन वन तथा वातावरण मन्त्रालयमा सचिवालय स्थापना गरिएको हो।
सचिवालयको उद्घाटन कोशीका पर्यटन वन तथा वातावरण मन्त्री सदानन्द मण्डलले गरे। उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै उनले पर्यटक र पर्यटनको माध्यमबाट राष्ट्रिय पुँजी निर्माण गर्ने उद्देश्यले पर्यटन वर्ष मनाउन लागिएको जानकारी दिए।
उनले पर्यटनको माध्यमबाट नै अर्थतन्त्रलाई चलायमान बनाउने र कोशी प्रदेशलाई पर्यटनको हवका रुपमा विकास गर्ने सरकारको लक्ष रहेको सुनाए। उनले सबैको सहयोग लिएर पर्यटन वर्ष सफल बनाउने स्पष्ट पारे।
पर्यटन वर्षको पूर्व तयारीका लागि चालु आर्थिक वर्ष कोशी प्रदेश सरकारले १० करोड रुपैयाँ बजेट विनियोजन गरेको छ। सचिवालय स्थापनासँगै पर्यटन वर्षका कार्यक्रमहरू सुरु भएको कोशी पर्यटन वर्ष निर्देशक समितिका सह–संयोजक कृष्णकुमार साहले जानकारी दिए।