नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले नेपाली कांग्रेस महाधिवेशन मुखी भइसकेको बताएका छन् । आइतबार धनुषामा आयोजित पत्रकार सम्मेलनमा बोल्दै नेता कोइरालाले महाधिवेशन मुखी हुँदा अलिअलि तलमाथि हुने बताएका हुन् ।

‘अधिवेशन मुखी नेपाली कांग्रेस भइसकेको छ,’ नेता कोइरालाले भने, ‘अधिवेशनमुखी भएपछि अलिअलि तलमाथि हुने नै भयो ।’

कोइरालाले पार्टी सभापति शेरबहादुर देउवा आफ्नो आदरणीय नेता भएको पनि बताए । उनले भने, ‘मेरो सभापति जीसँग कुनै किसिमको रिस,राग, द्वेष केही पनि छैन । उहाँ मेरो आदरणीय सभापति हुनुहुन्छ । उहाँले बोलाएको बेलामा म जान्छु । कुनै इन्फरमेसन पाए भेटेर भन्छु, फोनबाट भन्छु ।’

सभापतिसँग मात्र नभई कांग्रेसका अन्य कोही नेतासँग पनि आफ्नो कुनै समस्या नभएको उनले बताए । ‘उहाँसँग मात्रै होइन कोही सित पनि, कुनै साथीसित पनि नेपाली कांग्रेसका साथीहरूसित रिस,राग, द्वेष छैन, त्यो राख्नु पनि हुँदैन,’ कोइरालाले भने ।

महामन्त्री गगन थापाको सभापति उठ्ने प्रश्नमा कोइरालाले कांग्रेसको हरेक क्रियाशील सदस्यलाई सदस्यता लिएको १५ वर्ष पुगेको भए सभापति उठ्ने अधिकार रहेको बताए । ‘आजको दिनसम्म पनि उहाँ(महामन्त्री थापा) मेरै, हाम्रै ग्रुपमा हुनुहुन्छ । सभापति उठ्छु भनेर मलाई त भन्नुभएको छैन,’ उनले भने, ‘बाहिर तपाईँहरूसँग भनेको भए मलाई थाहा भएन । उठ्ने नै भए उहाँको अधिकारको कुरा हो । मैले रोक्ने कुरा भएन ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0