पर्साको सखुवा प्रसौनीमा आयोजित कार्यक्रममा प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई विशेष नागरिक अभिनन्दन गरिएको छ। उनलाई १८० किलोको मालाले सम्मान गरिएको हो।
एमाले पर्सा जिल्ला कमिटीले आयोजना गरेको बृहत् पार्टी प्रवेश तथा जनसभा कार्यक्रममा प्रधानमन्त्री ओलीलाई १८० किलोको मालाले संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजकुमार गुप्ताको नेतृत्वको टोलीले सम्मान गरेको थियो।
उक्त कार्यक्रममा ओलीले पर्साका विभिन्न राजनीतिक दलका झण्डै पाँच हजार नेता तथा कार्यकर्तालाई एमालेमा स्वागत गरे। जनता समाजवादी पार्टी, माओवादी केन्द्र, नेपाली कांग्रेस, र नागरिक उन्मुक्ति पार्टीका केन्द्रीय सदस्य उर्मिला महतोसहितका नेताहरु एमाले प्रवेश गरेका थिए।
जनसभामा एमालेका मधेस प्रदेश इञ्चार्ज लीलानाथ श्रेष्ठ, नेता पुरुषोत्तम पौडेल, हरि उप्रेती, प्रभु हजारा, सुमनराज प्याकुरेल, ज्वालाकुमारी साह, मधेस प्रदेशका भौतिक पूर्वाधार मन्त्री सरोज यादव, र खेलकुद तथा समाज कल्याण मन्त्री प्रमोद जयसवालको समेत उपस्थिति थियो।