ललितपुर महानगरपालिकाका प्रमुख चिराबाबु महर्जनले सदर चिडियाखानालाई रात्रिकालीन चिडियाखानाको रूपमा विकास गर्न महानगर तयार रहेको बताएका छन्।

आइतबार राष्ट्रिय प्रकृति संरक्षण कोषले ललितपुरमा आयोजना गरेको सदर चिडियाखानाको २९औँ वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै उनले चिडियाखानासँग सम्बन्धित आफ्ना सबै प्रतिबद्धता पूरा भएको दाबी गरे। साथै, उनले रात्रिकालीन चिडियाखाना सञ्चालनको सम्भावना अध्ययन गर्न चिडियाखानाको व्यवस्थापन समितिलाई आग्रह गरे।

मेयर महर्जनले आफ्नो कार्यकालमा चिडियाखानाका धेरै संरचनात्मक विकासको चर्चा गर्दै भने, “पहिला हराएको टाइगर गेट फेरि स्थापना गरिएको छ। हामीले बोलेका कामहरू सबै पूरा भएका छन्। अब चिडियाखानालाई रात्रिकालीन स्वरूप दिन सहकार्य गर्न आवश्यक छ। विदेशतिर राति चिडियाखाना खुला राख्ने प्रचलन छ। यहाँ पनि यसको सम्भावना छ कि छैन, अध्ययन गर्नुपर्छ।”

उनले महानगरमा रात्रिकालीन गतिविधिको अभाव रहेको भन्दै चिडियाखानाबाट यस्तो अभियान सुरु गर्नुपर्ने बताए। “थोरै ठाउँमा सुरुवात गरेर विस्तारै यसलाई विस्तार गर्ने योजना बनाउन सकिन्छ। अध्ययनले सम्भव देखाए महानगरले यसमा लगानी गर्नेछ,” उनले थपे।

वन्यजन्तु संरक्षणको महत्त्व औंल्याउँदै उनले सबैले आ-आफ्नो क्षेत्रमा यसका लागि काम गर्नुपर्ने आवश्यकता पनि व्यक्त गरे।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0