पछिल्लो समय जलवायु परिवर्तनको असरबारे सर्वत्र चर्चा छ। हिमालमा हिउँ नदेखिँदा त झनै यसको असरबारे बहस नै चल्ने गरेको छ। पोखराबाट हेर्दा सेतै देखिने माछापुच्छ्रे हिमालको अहिले कालो पत्थर मात्र देखिएको र त्यसो हुनुमा जलवायु परिवर्तन मुख्य कारक भनेर बहस पनि भईरहेको छ।
जलवायु परिवर्तन र त्यसले पारेको असरबारे जानकारी दिलाउन र विद्यार्थीमार्फत सचेतना फैलाउनका लागि यहाँस्थित मदरल्याण्ड माविमा आइतबार जलवायु परिवर्तनसँग सम्बन्धित रहेर बहसमुलक र चित्रकलाका गतिविधि गरिएको छ। जलवायुको क्षेत्रमा कार्यरत संस्था जिस्ट इन्टरनेशनल फाउन्डेसन, नेपाल–अमेरिका अलुम्नाई नेटवर्क र विद्यालयको आयोजनामा भएको कार्यक्रममा विभिन्न मुलुकका विद्यार्थीले जलवायु परिवर्तनको असर कस्तो हुन्छ भनेर चित्र, भित्रेपत्रिका, जलवायु ओलम्पियाड र बहसमार्फत प्रस्तुत गरेका थिए।
विभिन्न मुलुबाट आएका विद्यार्थी र विज्ञ गरि करिब एकसयजना सहभागि उक्त कार्यक्रममा विद्यार्थीले जलवायु परिवर्तनको असरले मानवमा परेको प्रभावलाई फरक तरिकाले प्रस्तुत गरेका थिए। विद्यालयका प्राचार्य डा.नारायण बरालका अनुसार जलवायु परिवर्तन र त्यसले मानव जीवनमा पारेको असरबारे जानकारी दिलाउने उद्देश्यले यो कार्यक्रम गरिएको हो। बरालका अनुसार जलवायु परिवर्तनको असर पछिल्लो समय बढ्दै गएको र त्यसले जनमानसमा असर पारेकोले बेलैमा सचेत बनाउनका लागि कार्यक्रम आयोजना गरिएको हो।
‘जलवायु परिवर्तनको असर हरेक दिन बढिरहेको छ। मौसममा परिवर्तन आउँदा विभिन्न समस्या थपिन थालेका छन्,’ उनले भने, ‘मौसममा बदलाव आएसँगै मानव जीवनमा पनि असर परेको छ। थाहै नपाउने गरि मानव जीवनमा परिवर्तन आएको छ। यसलाई चिर्न जरुरी छ।’ विद्यार्थीमार्फत जलवायु परिवर्तनको असरलाई कम गर्नका लागि सचेतना फैलाउने प्रयास गरिएको उनले बताए।
प्राचार्य बरालका अनुसार अमेरिका, अस्ट्रेलिया, भारत, बंगलादेश र भीयतनामका विभिन्न विश्वविद्यालयका प्राध्यापक र अनुसन्धाकर्ताहरु सहभागि थिए। त्यसबाहेक विभिन्न मुलुकका स्कुले विद्यार्थी पनि सहभागि थिए । नेपालभित्रैका विभिन्न विद्यालयबाट समेत विद्यार्थीहरु यो कार्यक्रमका सहभागि थिए। ती विद्यार्थीले चित्रकला, भित्तेपत्रिका, जलवायु ओलम्पियाड र जलवायुबारे बहस गर्दै फरक अनुभव साटेका थिए। विभिन्न विधामा भएको प्रतिश्पर्धामा उत्कृष्ट विद्यार्थीलाई उक्त अवसरमा पुरस्कृत पनि गरिएको थियो।
विद्यालयका प्लस टु इन्चार्ज नारायण आचार्यले विदेशी र स्वदेशी विद्यार्थी र विज्ञविचको अनुभव साटासाटले जलवायु परिवर्तनको असर घटाउन नयाँ तौरतरिका थाहा हुने बताए। ‘विभिन्न मुलुकका विद्यार्थीले जलवायु परिवर्तनको असरलाई फरक फरक शैलीमा बुझेका छन् । सबैतिर एकैखालको प्रभाव नहुन सक्छ। त्यसैले अनुभव साट्ने यो अवसरले विद्यार्थीमा नयाँ ज्ञान हासिल हुनेछ,’ आचार्यले भने, ‘एकअर्का मुलुकमा परेको असरबारे पनि ज्ञान आदानप्रदान हुनेछ।’
कार्यक्रममा जलवायु परिर्वतनको क्षेत्रमा काम गर्न सक्रिय संस्था जिस्ट ग्लोवलका अध्यक्ष डा. सब्यासाची मजुमदारले पछिल्लो समय जलवायु परिवर्तको असर प्रत्यक्ष देख्न सकिने अवस्था रहेको बताए। हिउँ पर्ने हिमाल अहिले कालो देखिने पनि उनले बताए।
‘हिमालमा हिउ पग्लने गति बढेको छ। हामीले यस्तै सम्मेलनमार्फत बालबालिकालाई जलवायु परिवर्तनको असर कुन तहसम्म परेको छ भनेर बुझाउन जरुरी छ,’ मजुमदारले भने, ‘अहिलेका बालबालिका भविश्यका अभिभावक हुन। उनीहरुलाई जलवायु परिवर्तनले पारेको असर बारे बेलैमा बुझाउन पाएमा भविश्य उज्जवल बन्न सक्छ।’ मजुमदारले जलवायु परिवर्तनको कारण मानवले जीवनशैली नै परिवर्तन गर्न जरुरी पर्ने अवस्था आएको पनि बताए।