काठमाडौँ । अनेरास्ववियु क्रान्तिकारीमा ३२ वर्षे उमेरहद पक्षधर विजयी भएपछि निवर्तमान कार्यसमितिका दुई तिहाइभन्दा बढी पदाधिकारी बिदा हुने देखिन्छ । निर्वाचन आयोगले राति सार्वजनिक गरेको मतपरिणाम अनुसार उमेहद पक्षधरले खुला पक्षधरलाई २१ मत पराजित गरेको हो ।

उमेरहद लगाउने कि खुला गर्ने विवाद अन्त्य गर्न शनिबार निर्वाचन भएको थियो । कुल २३९८ मतदातामध्ये १७७९ जनाले मत खसालेका थिए । जसमा ३२ वर्ष उमेरहद लागु गर्नुपर्छ भन्ने पक्षमा ९०० मत परेको थियो भने विपक्षमा ८७९ मत परेको थियो ।

आगामी माघ ५ गतेबाट नयाँ नेतृत्वका चुन्नका लागि निर्वाचन प्रक्रिया सुरु हुनेछ । संगठनमा ३२ वर्षे उमेरहद लागु भएपछि निवर्तमान समितिका अधिकांश बिदा हुने भएका हुन् ।

एक सय ७८ सदस्यीय पदाधिकारीमध्ये निवर्तमान उपाध्यक्षबाट प्रविना अधिकारी मात्र अध्यक्षमा उम्मेदवार बन्न पाउने एक विद्यार्थी नेताले जानकारी दिए । उनका अनुसार अध्यक्षका दाबेदार रहेका निवर्तमान उपाध्यक्षहरू इन्द्र भुसाल, जीपी मैनाली, तुकमान महरा, मिलन एम.सी, लक्ष्मीप्रसाद जोशी, नरेश रेग्मी, गजेन्द्रप्रसाद देव, राजकुमार याक्खो, मदन भुल, मदन भट्टराई, सूर्यनारायण साह, पवन कार्की, क्षितिज सापकोटा, नारायण खनाल, अम्बरराज शाही, अच्युत भट्ट, केशव रावल उमेरहदका कारण आउट भएका छन् ।

यस्तै निवर्तमान महासचिव दीपेश पुन पनि उमेरहदका कारण बिदा हुने भएका छन् । यसै गरी उपमहासचिवमा ५/७ जना र सचिवमा १० जना जति अध्यक्षको उम्मेदवार बन्न सक्नेछन् ती नेताले बताए ।

‘३२ वर्ष उमेरहद लागु भएमा निवर्तमान पदाधिकारीबाट लगभग ७० प्रतिशत नेताहरू बाहिरिनेछन् । उपाध्यक्ष तहमा प्रविना अधिकारी मात्र रहनेछिन् । उपमहासचिवमा पाँच जना र सचिवमा करिब १० जना बाँकी रहन्छन् होला‘, रातोपाटीसँग ती नेताले भने ।

अब निवर्तमान उपमहासचिवबाट हेमन्त राई अध्यक्षमा बलिया दाबेदार रहेको अर्का एक निवर्तमान उपाध्यक्षले जानकारी दिए । उनका अनुसार सुदिन पौडेल, तिर्सना हमाल, योगेन्द्र बुढा, रोशन थापामगर, प्रतीक कार्की, विष्णु ढुंगेल, विश्वमणि थापा लगायत नेताहरू समेत दाबेदार रहेका छन् । अब अध्यक्षको दाबेदार पनि उपमहासचिव र सचिव तह मध्येबाट नै हुने बढी सम्भावना रहेको छ ।

यद्यपि उमेरहदसम्बन्धी निर्वाचन प्रक्रियालाई लिएर निवर्तमानबाट अध्यक्षका दाबेदारहरू असन्तुष्ट देखिएका छन् । निर्वाचन आयोगका भूमिकाप्रति पनि उनीहरूले विरोध जनाएका छन् । नेता पवन कार्की, केशव रावल लगायत निवर्तमान उपाध्यक्षहरूले निर्वाचनमा धाँधली भएको विषयमा छानबिन नगरी निर्वाचन प्रक्रिया अगाडि बढाउन नदिने चेतावनी दिएका छन् ।

‘बैतडी, बाजुरा, गुम्मी, मोरङ लगायत जिल्लामा धाँधली भएको उजुरी आयोगमा परेको थियो । हिजो बसेको पदाधिकारी बैठकले पनि छानबिन गरी नतिजा प्रकाशित गर्न भनेको थियो । तर उजुरी उपर आयोगले छानबिन नै नगरी नतिजा घोषणा गर्‍यो । धाँधली भएको विषयमा छानबिन नगरी हामी निर्वाचन प्रक्रिया अगाडि बढाउन दिँदैनौँ’, कार्कीले भने ।

असोज १० देखि १५ सम्म त्रिभुवन विश्वविद्यालयस्थित स्मृति हलमा भएको क्रान्तिकारीको २३ औँ राष्ट्रिय सम्मेलनमा उमेरहद लगाउने कि नलगाउने सम्बन्धमा विवाद हुँदा स्थगित भएको थियो । त्यतिबेला १० वटा समूहगत छलफलबाट आएका निष्कर्षको आधारमा २८, ३० र ३२ वर्षे उमेरहद राख्नुपर्ने सुझाव आएको थियो ।

विवाद समाधानका लागि पुस ९ गते माओवादीको केन्द्रीय कार्यालय पेरिसडाँडामा बसेको निवर्तमान अध्यक्ष पञ्चा सिंह, संगठनको इन्चार्ज हिमाल शर्मा, प्रमुख निर्वाचन अधिकृत मुक्ति प्रधान लगायतको संयुक्त बैठकले ३२ वर्ष उमेरहद लगाउने सहमति गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0