१५ पुस, काठमाडौं । १०० वर्षको उमेरमा २९ डिसेम्बरमा दिवंगत भएका अमेरिकी पूर्वराष्ट्रपति जिम्मी कार्टर सबैभन्दा बढी उमेर बाँच्ने पूर्वराष्ट्रपति बने ।
गत अक्टोबरमा उनले आफ्नो सयौं जन्मदिन मनाएका थिए ।
कार्टरले विश्वभर लोकतन्त्र र मानवअधिकारको संरक्षणको पहल गर्दै कार्टर सेन्टर स्थापना गरेका थिए। यही सेन्टरले पूर्वराष्ट्रपतिको निधनको पुष्टि गरेको हो।
कुनैबेला बदाम खेती गर्ने किसान रहेका कार्टरले भियतनाम युद्धमा सहभागी हुन अस्वीकार गर्ने अमेरिकी युवाहरूलाई माफी दिए। उनी जलवायु परिवर्तनलाई गम्भीरतापूर्वक लिने पहिलो अमेरिकी नेता थिए।
अन्तर्राष्ट्रियस्तरमा, उनले इजरायल र इजिप्टबीच शान्ति सम्झौता गराउन महत्त्वपूर्ण भूमिका खेले। तर, इरानमा भएको बन्धक संकट र अफगानिस्तानमाथि सोभियत संघको आक्रमणजस्ता मुद्दाहरूमा उनलाई संघर्ष गर्नुपर्यो।
सन् १९७९ मा कार्टरले चीनसँग मैत्री सम्बन्धको पहल गर्दै अमेरिका र चीनबीच औपचारिक कूटनीतिक सम्बन्ध स्थापित गर्ने घोषणा पनि गरे । यसको अर्थ हुन्थ्यो- अमेरिकाले ताइवानसँग आफ्नो सम्बन्ध तोड्नुपर्ने थियो र ताइपेईमा रहेको दूतावास बन्द गर्नुपर्ने थियो।
कार्टरले राष्ट्रपति रूपमा एक कार्यकाल पूरा गरे। तर, सन् १९८० को चुनावमा उनी रोनाल्ड रेगनसँग नराम्ररी पराजित भए। कार्टरले केवल ६ राज्यमा मात्रै जित हात पारे।
कार्टरलाई विश्व शान्ति, जलवायु परिवर्तन, र मानवअधिकारको क्षेत्रमा उल्लेखनीय योगदानका लागि नोबेल शान्ति पुरस्कारले सम्मानित गरिएको थियो।
नोभेम्बर २०२३ मा कार्टरकी पत्नी रोसलिनको निधन भएको थियो। पत्नीलाई श्रद्धाञ्जलि दिँदै कार्टरले लेखेका थिए, ‘मैले हासिल गरेका सबै उपलब्धिहरूमा उनी मेरी बराबरीको साझेदार थिइन्।’
कार्टर छालाको क्यान्सरबाट पीडित थिए र यसको उपचार पनि गरिएको थियो।
बास्केटबलदेखि राष्ट्रपतिसम्मः एक प्रेरणादायी यात्रा
जिमी कार्टरको पूरा नाम जेम्स अर्ल कार्टर जुनियर हो । उनी सन् १९२४ अक्टोबर १ मा जर्जियाको सानो सहर प्लेन्समा जन्मेका थिए। उनी चार दाजुभाइ-बहिनीमध्ये सबैभन्दा जेठा थिए। उनका पिता बदाम किसान थिए भने आमा पेशाले नर्स थिइन्। स्कुले जीवनमा कार्टर उत्कृष्ट बास्केटबल खेलाडी थिए।
कार्टरले अमेरिकी नेभीमा सात वर्ष सेवा गरे, जहाँ उनले सबमरीन अफिसरको रूपमा काम गरे। उनले आफ्नी बहिनीकी साथी रोसालीनसँग बिहे गरे ।
सन् १९५३ मा पिताको निधनपछि उनी खेतीमा फर्किए। पहिलो वर्ष खराब नतिजाका बाबजुद उनले खेतीलाई सफल व्यवसायमा परिवर्तन गरिछाडे । यसै समय, उनले स्थानीय राजनीतिमा प्रवेश गरे र जर्जियाको चुनाव जित्नुअघि नै उनले पुस्तकालय बोर्डको चुनाव जित्दै राजनीति सुरु गरे।
नागरिक अधिकारका लागि अभियान
दुई पटक सिनेटमा निर्वाचित भएपछि कार्टर सन् १९७० मा जर्जियाका गभर्नर बने। यसपछि उनले नागरिक अधिकारका पक्षमा काम सुरु गरे।
राष्ट्रपति रूपमा पहिलो भाषणमा उनले नस्लीय भेदभावविरुद्ध कडा अभिव्यक्ति दिए । उनले स्पष्ट रूपमा भने, ‘म स्पष्ट रूपमा भन्न चाहन्छु कि नस्लीय भेदभावको युग समाप्त भएको छ ।’ उनले अमेरिकी संसदको भित्तामा मार्टिन लुथर किङ्गको तस्वीर राखे र सरकारी कार्यालयहरूमा अफ्रिकी अमेरिकीहरूको नियुक्ति सुनिश्चित पनि गरे।
इसाई धर्म र उदारवादबीच सन्तुलन कायम गरिरहन उनले कठिनाइ व्यहोरे । गर्भपतनको कानुनको पक्षमा उभ्याए तर पनि उनले यसका लागि पर्याप्त आर्थिक जोहो भने गर्न सकेनन् ।
राष्ट्रपति भएपछि उनले पहिलै दिन भियतनाम युद्धमा सहभागी हुन अस्वीकार गर्ने अमेरिकी युवाहरूलाई माफी दिए। उनका कटु आलोचकहरूले यसलाई लज्जास्पद निर्णय भनेर आलोचना गरे । कार्टर स्वयंले आफूले एक कठिन निर्णय गरेको बताएका थिए ।
कार्टरले कैयौं महत्वपूर्ण जिम्मेवारीमा महिलाको नियुक्ति गरे । त्यस्तै उनी जलवायु परिवर्तनलाई गम्भीरतापूर्वक लिने पहिलो अमेरिकी राष्ट्रपति बने। उनले ह्वाइट हाउसमा सोलार प्यानल राख्ने आदेश दिए। तर उनीपछि राष्ट्रपति बनेका रोनाल्ड रेगनले यसलाई हटाइदिए ।
चुनौतीपूर्ण समय
कार्टरको कार्यकालमा अमेरिकी अर्थतन्त्र मन्दीमा फसेको थियो। ऊर्जा संकट समाधानका लागि उनले कडा कदम उठाए, जसमा पेट्रोल-डिजेलमा कोटा प्रणाली पनि थियो। यद्यपि उनले संसदमा चर्को विरोधको सामना गर्नुपर्यो ।
तर, ईरानमा अमेरिकी नागरिकहरूको बन्धक संकट र अफगानिस्तानमाथि सोभियत आक्रमणले उनको लोकप्रियता घटायो।
युनिभर्सल हेल्थकेयर सिस्टम पनि संसदबाट पारित हुन सकेन र बेरोजगारीसँगै ब्याजदरमा आएको उछाले कार्टरका चुनौती चुलिए ।
सन् १९७८ मा उनले मिश्र र इजरायलबीच सम्झौता गराउन उनले महत्वपूर्ण भूमिका खेले र यसका लागि निकै प्रशंसा पनि बटुले । तर इरानमा अमेरिकी नागरिक बन्धक बनेको घटनाले कार्टरमाथि संकट थप्यो ।
त्यस्तै, अफगानिस्तानमाथि सोभियत संघको हमलाले उनको थप परीक्षा लियो ।
कार्टरले बन्धक संकट सुल्झाउन इरानसँगको राजनीतिक सम्बन्ध तोडिदिए र कैयौं प्रतिबन्धहरू लगाए ।
लोकप्रियता र रेगनसँग पराजय
सन् १९८० मा आफू संलग्न डेमोक्रेटिक पार्टीका लागि उनले सिनेटर एडवर्ड केनेडीको गम्भीर चुनौती सामना गर्नुपर्यो यद्यपि उनी सफल भए । तर त्यसपछि भएको चुनावमा उनले केवल ४१ प्रतिशत मत मात्र पाउन सके ।
चुनावमा रिपब्लिकन नेता रोनाल्ड रेगनसँग कार्टर पराजित भए।
आफ्नो कार्यकालको अन्तिमतिर उनले इरानसँगको बन्धक संकट टुङ्ग्याउने घोषणा गरे । तर बन्धक भएका अमेरिकी नागरिक राष्ट्रपति रेगनको शपथपछि मात्र इरानबाट अमेरिका आउन सके ।
पद छाड्नेबेला उनको लोकप्रियताका अरु कुनै अमेरिकी राष्ट्रपतिको तुलनामा सबैभन्दा कम थियो । तर बिस्तारै उनको लोकप्रियता पुनः उकालो लाग्न थाल्यो ।
अमेरिकी सरकारको तर्फबाट उनले उत्तर कोरियासँग वार्ता गरे । साथै, सन् २००२ मा कार्टर, थियोडोर रुजवेल्ट र वुड्रो विल्सनपछि नोबेल पुरस्कार पाउने तेस्रो अमेरिकी राष्ट्रपति बने । उनी पहिलो अमेरिकी बने जसले राष्ट्रपति पद छाडेपछि नोबेल पुरस्कार पाउनसक्यो ।
नोबेल पुरस्कार स्वीकारेपछि उनले आफ्नो भाषणमा भने, ‘सबैभन्दा गम्भीर समस्या पृथ्वीमा सबैभन्दा धनी र सबैभन्दा गरिबबीच बढिरहेको खाडल हो ।’
नेल्सन मन्डेलासँग मिलेर उनले ‘द एल्डर्स’ नामको संस्था बनाए जसले शान्ति र मानवअधिकारमा काम गर्ने विश्व नेताहरूलाई एक ठाउँमा ल्यायो ।
थिएन धनी हुने चाहना
पदबाट अवकाश भएपछि जिमी कार्टरले साधारण जीवनशैलीलाई प्राथमिकता दिए। उनी आकर्षक भाषण र कर्पोरेट क्षेत्रसँग टाढै रहे ।
राष्ट्रपतिका रूपमा काम गर्दै उनले स्पष्ट रूपमा भनेका थिए कि मलाई पैसा कमाउन आवश्यक छैन । कार्टरले राष्ट्रपति कार्यालयबाट आफ्नो कार्यकालबाट पैसा कमाउने चाहना कहिल्यै राखेनन्।
एकपटक उनले वाशिंगटन पोस्टलाई भनेका थिए, ‘यसमा के गलत छ? जो मानिस पैसा कमाउँछन्, ती गलत छैनन्। तर, धनी हुनु मेरो चाहना कहिल्यै थिएन।’
वाशिंगटन पोस्टका अनुसार, कार्टरको घरको मूल्य एक करोड ६७ लाख डलर थियो जुन उनकी सेवा गर्ने सिक्रेट सर्विसका गाडीहरूको मूल्यभन्दा पनि कम थियो।
सन् २०१५ मा, उनले क्यान्सर भएको जानकारी दिए र यसको उपचार भइरहेको बताए।
कार्टरको जीवनमा धर्मको विशेष स्थान थियो ।
एकपटक उनले भनेका थिए, ‘सार्वजनिक सेवा र धर्मबीचको सम्बन्धलाई तोड्न सकिंदैन। मैले कहिल्यै भगवान् र आफ्नो राजनीतिक जिम्मेवारीबीच कुनै द्वन्द्व महसुस गरेको छैन।’