धनगढी । सुदूरपश्चिममा आजदेखि भुवा पर्व सुरु भएको छ । ऐतिहासिक महत्त्व रहेको भुवा पर्व प्रदेशको पहाडी जिल्लामा सुरु भएको हो ।

उक्त पर्व कैलालीको धनगढीमा पनि तीन दिनसम्म मनाइने भएको छ । धनगढीमा बाजुरेली सेवा समाजले भुवा पर्व मनाउन लागेको हो । भूवा पर्व धनगढी उपमहानगरपालिका–१ खुल्ला मञ्चमा मनाइने समाजका अध्यक्ष बजिरसिंह धामीले बताए ।

उनका अनुसार भुवा पर्वमा प्रदर्शनीसँगै प्रतियोगिता पनि आयोजना गरिएको छ । प्रतियोगितामा सुदूरपश्चिमका तराईका जिल्लामा बसोबास गर्दै आएका बाजुरा तथा बझाङका नागरिकहरूका विभिन्न समूहको बिचमा प्रतिस्पर्धा गरिने बताइएको छ ।

.भुवाको ऐतिहासिकता

हाल लोपोन्मुख अवस्थामा रहेको भुवा पर्वको ऐतिहासिक, सांस्कृतिक महत्त्व रहेको छ । बाजुरेली सेवा समाजका अध्यक्ष धामीका अनुसार भुवा प्राचीन संस्कृति हो । यो प्राचीनकालीन युद्धको भाका पनि हो । जसमा कौशलताको प्रदर्शनी गरिन्छ । जसको आफ्नै मौलिक विशेषता रहेको अध्यक्ष धामीको भनाइ छ ।

पुसे औँसीको अघिल्लो मध्यरातबाट सुरु हुने भुवा महाभारतको पाण्डव र कौरवबिचको युद्धदेखि यो पर्व आरम्भ भएको जनविश्वास रहँदै आएको छ । सोही लडाइँको सम्झनामा तथा पाण्डवहरुको जीतको खुसीयालीमा पर्व मनाउन थालिएको बताइएको छ ।

पर्वमा ढाल र तरबारसहित चाली खेल्ने प्रचलन रहँदै आएको छ । जसको सुरुवातदेखि समाप्तिसम्म आफ्नै विधि प्रक्रिया रहेको धामी बताउँछन् ।

त्यस्तै, देउडा गायक तथा पूर्व अन्तर्राष्ट्रिय कबड्डी खेलाडी लक्ष्मण अधिकारीका अनुसार पुसे औँसीको राति भुवाखडोमा आगो बालिन्छ । आगो तापेर नुहाई–धुवाई सरसफाइ गरेर घरमा मिठो–मसिनो खाना बनाइएको हुन्छ । खाना खाएर अनि आफ्ना हतियारहरू ढाल तरबारलाई चम्किलो बनाउने काम गरिन्छ । ढाल कालोले पोतिन्छ भने तरबारलाई धारिलो र चम्किलो बनाइन्छ ।

यसरी चम्किलो बनाइएको तरबारहरू चाली खेल्दा घाममा टलक्क टल्किन्छ । औँसीको भोलिपल्ट लुगा कपडा धोएर हातहतियार सजाउने, टल्काउने काम हुन्छ । अनि द्वितीया तिथिको दिनमा विशेष ढंगले प्रदर्शन गरिने बताइन्छ । भुवा खेलको पहिरन पनि विशेष प्रकारको हुन्छ । भुवा खेल्ने पुरुषहरूले सेतो भोटोसहित जामा, पछाडि कुमदेखि खुट्टासम्म पुग्ने गरी पिठ्युँमा एउटा सेतो चादर जस्तो पहिरनुपर्छ । टाउकोमा पघरी बाँध्नुपर्छ । देउडालयको भाका अधिकारीले यसरी सुनाउँछन्

एक हात तरबार हुन्छ एक हात ढाल हुन्छ

गजरान्त दमाऊ बजी बाजाको ताल हुन्छ

जसो जसो बाजो बज्यो खेल्न्याको चाल हुन्छ

खेल्नाकी रमाइलो हुन्छ हेन्नाखी माल हुन्छ

चादानि लायाको टीको टल्क्याको लाल हुन्छ

जान्यो भन्या गज्जब हुन्छ नजान्या झाल हुन्छ

हेन्न्या उत्ति खेल्न्या उत्ति वर पर उत्ती

खेल्नाकी दम पन चाइदो उसै चाईदो फुत्ती

कालो बादल घेर्री घेर्री आट्योकी वर्णन

हुक्का चिलिम सुंन्न्या जति सब्बईकी दर्शण…..।।

दिउँसोको समयमा भुवाखडोमा गएपछि भुवाको रौनक सुरु हुन्छ । बाजागाजाका साथ दमाहाले पनि अनेक धुन बजाउँछन्, बाजागाजा, लस्कर हुँदै औँसी र प्रतिपदाका दिन चम्काएका ढाल तरबार बाजागाजा भूवाको लयमा चम्कन सुरु हुन्छ ।

बायाँ हातमा ढाल दायाँ हातमा तरबार लिई बाजाको तालसँगै गुरुको निर्देशनअनुसार सुस्त गतिबाट भुवा खेल खेल्ने गरिन्छ । खेलमा २० भन्दा वटा चाली वा लय र ६३ कवच हुन्छ ।

यसैबिच छरछिमेकहरूले आ–आफ्नो घरमा मिठामिठा परिकारहरू पकाउँछन् र आपसमा बाँडेर खान्छन् । दसैँपछिको ठुलो पर्वको रूपमा लिइने यस पर्वमा वर्षदिनसम्म भेटघाट नै नभएका इष्टमित्र, दाजुभाइबिचको सम्बन्ध प्रगाढ हुने जनविश्वास उत्तिकै छ । हातमा तरबार र ढाल लिई सामूहिक रूपमा बाजागाजासहित घर–घरमा गई भोस्को खेलिने हुँदा जसबाट घरमा श्रीसम्पत्ति भित्रिने र खेलको माध्यमबाट समाजका विकृति–विसङ्गतिको अन्त्य भई समतामूलक समाज निर्माण हुने जनविश्वास रहँदै आएको बताइन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0