नेकपा (माओवादी केन्द्र) को विद्यार्थी सङ्गठन अखिल (क्रान्तिकारी) को नेतृत्व चयनका लागि पुस १७ गते निर्वाचन हुँदैछ। उमेरहद लागू हुने कि नहुने भन्नेबारे छिनोफानोका लागि गत शनिबार नै निर्वाचन भएर पनि ३२ वर्षे उमेरहद लागू भइसकेको छ।

यससँगै निवर्तमान समितिका उपमहासचिवभन्दा माथिका सबै विद्यार्थी नेताहरू प्रतिस्पर्धाबाट मात्रै होइन, सङ्गठनबाट समेत बाहिरिसकेका छन्। ३२ वर्षे उमेरहद लागू हुँदा कम्तीमा २०० जना विद्यार्थी नेताहरू सङ्गठनबाट स्वत: बाहिरिएका छन्।

त्यसमा २२औं सम्मेलनबाट निर्वाचित १७ उपाध्यक्षहरू इन्द्र भुसाल, नरेश रेग्मी, पवन कार्की, मदन भूल, नारायण खनाल, जीपी मैनाली, क्षितिज सापकोटा, केशव रावल, अच्युत भट्ट, तुकमान महरा, मदन भट्टराई मिलन एमसी, लक्ष्मी जोशी, सूर्यनारायण साह, गजेन्द्र देव, दीपेश पुनलगायत छन्। उनीहरू सबै अध्यक्षका आकाङ्क्षी थिए। तर, ३२ वर्षे उमेरहदका कारण उनीहरू स्वत: बाहिरिएका छन्।

यसपछि मुख्य प्रतिस्पर्धा २२औं सम्मेलनबाट उपमहासचिव वा त्योभन्दा तलका पदमा निर्वाचितहरूबीच मात्रै हुने देखिएको छ।

यसरी हेर्दा कोशी प्रदेशबाट प्रतिनिधित्व गर्ने हेमन्त राई अध्यक्षका आकाङ्क्षी छन्। उनी कोशी प्रदेश समितिको पूर्वअध्यक्ष हुन्। उनी माओवादी केन्द्रको पोलिटब्यूरो सदस्य सुदन किराती निकट हुन्। किराती पार्टी उपमहासचिव जनार्दन शर्मा निकट मानिन्छन्।

यस्तै सुरजसिंह ठकुरी र रोशन थापामगर पनि आकाङ्क्षी छन्। बागमती प्रदेशबाट प्रतिनिधित्व गर्ने उनीहरू निवर्तमान समितिका क्रमश: उपमहासचिव र सचिव हुन्। ठकुरी पार्टीका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ निकट मानिन्छन् भने थापामगर जनार्दन शर्मा निकट नै मानिन्छन्।

उता गण्डकी प्रदेशबाट नारायण बडाल र सुदिन पौडेल आकाङ्क्षी छन्। उनीहरू निवर्तमान समितिका उपहासचिव हुन्। बडाल जनार्दन शर्मा र पौडेल पार्टीका अर्का उपमहासचिव वर्षमान पुन निकट मानिन्छन्।

राजेन्द्र विष्ट पनि अध्यक्षका आकाङ्क्षी छन्। लुम्बिनी प्रदेशबाट प्रतिनिधित्व गर्ने विष्ट निवर्मान समितिका सचिव हुन्। उनी पनि वर्षमान पुन निकट मानिन्छन्।

कर्णाली प्रदेशबाट प्रतिनिधित्व गर्ने तिर्सना हमाल र योगेन्द्र बुढा पनि अध्यक्षको आकाङ्क्षीको लाइनमै छन्। निवर्तमान समितिकी उपमहासचिव हमाल वर्षमान पुन निकट हुन्। बुढा भने कृष्णबहादुर महरा निकट मानिन्छिन्। उनी पनि निवर्तमान समितिका उपमहासचिव नै थिइन्।

सुदूरपश्चिम प्रदेशबाट प्रतिनिधित्व गर्ने पार्वती नेगी पनि अध्यक्षको आकाङ्क्षी छिन्। वर्षमान पुन निकट मानिने उनी निवर्तमान समितिकी उपमहासचिव हुन्।

यसरी हेर्दा ३२ वर्षे उमेरहद लागू हुँदा पनि विद्यार्थीको निर्वाचनमा नेताहरूको प्रतिस्पर्धा हुने देखिन्छ। अझ मुख्य प्रतिस्पर्धा पार्टीका उपमहासचिवद्वय वर्षमान पुन र जनार्दन शर्माबीच हुने देखिन्छ। त्यसो त यो पनि भनिन्छ कि उनीहरू पार्टीभित्र सशक्त गुट चलाउने नेताहरू हुन्।

विधानत: क्रान्तिकारीमा २४३ सदस्यीय केन्द्रीय समिति र ३३ सदस्यीय पदाधिकारी हुन्छ। विधानमा एक अध्यक्ष, नौ उपाध्यक्ष, एक महासचिव, नौ उपमहासचिव, १२ सचिव र एक कोषाध्यक्ष रहने प्रावधान छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0