१५ पुस, काठमाडौं । कृषि तथा पशुपंक्षी विकासमन्त्री रामनाथ अधिकारीले च्याउको बीउमा आत्मनिर्भर हुनेगरी सरकारले काम अघि बढाएको बताएका छन् ।
सोमबार राष्ट्रिय च्याउ दिवसको अवसरमा च्याउ उत्पादक किसान संघ नेपालले काठमाडौंमा आयोजना गरेको च्याउ महोत्सवमा उनले यस्तो बताएका हुन् ।
काभ्रेको खोपासीमा च्याउ स्रोत केन्द्रको स्थापनाका लागि डिपिआर सम्पन्न भइ कार्य अघि बढिसकेको बताउँदै उनले उक्त केन्द्रको निर्माण पश्चात नेपाल गुणस्तरीय च्याउको बीउ निर्माणमा आत्मनिर्भर हुने विश्वास व्यक्त गरे ।
‘गुणस्तरीय बीउ कल्चर व्यवस्थापनका निमित्त कृषि मन्त्रालय मातहतका कार्यालयहरू तथा निजी क्षेत्रबाट सञ्चालनमा आएका तन्तु प्रजनन प्रयोगशालाको सुदृढिकरण तथा पानको गुणस्तर निर्धारण र नियमनका लागि प्रभावकारी कदम चाल्न आवश्यक छ,’ कृषिमन्त्री अधिकारीले भने, ‘यसका लागि मन्त्रालयमा कार्य भइरहेका कुरा जानकारी गराउन चाहन्छु । काभ्रेको खोपासीमा च्याउ स्रोत केन्द्रको स्थापनाका लागि डिपिआर सम्पन्न भई कार्य अगाडि बढेको छ ।’
च्याउ खेतीबाट किसानको आयआर्जन बढाउन, पोषणयुक्त खाद्यपदार्थको उपलब्धता बढाउन र निर्यातको सम्भावना बढाउन समेत टेवा पुग्ने बताए ।
‘नेपालमा व्यवसायिक रुपमा कन्ने, सिपारे, पराले, ज्ञानु, डर्मा लगायतका च्याउहरूको खेती भइरहेको छ । ४० डिग्रीको तापक्रममा उत्पादन गर्न सकिने दुधे च्याउ प्रविधिको विकास भएर व्यवसायिक खेती सुरु भइरहेको छ,’ उनले भने ।
काठमाडौंको भृकुटीमण्डपमा जारी मेलामा विभिन्न ४० वटा स्टलहरू छन् । मेलाले किसानलाई च्याउखेतीतर्फ आकर्षित गर्ने विश्वास लिइएको छ ।