१६ पुस, काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले मुलुकको विकास भनेको आर्थिक र भौतिकमात्रै नहुने बताउँदै श्रम र पुँजीलाई सँगै अघि बढाउन आवश्यक रहेको बताएका छन् ।
मंगलबार काठमाडौंमा संयुक्त ट्रेड युनियन समन्वय केन्द्र (जेटियुसिसी) को छैटौं श्रम संसदको उद्घाटन सत्रलाई सम्बोधन गर्दै उनले श्रमजीवि वर्गले नै यसलाई अघि बढाउने बताए ।
‘मुलुकको विकास भनेको केवल आर्थिक र भौतिक मात्रै होइन, यससँग मानवीय विषय पनि उत्तिकै जोडिएको छ,’ उनले भने, ‘प्राकृतिक श्रोत, साधन र पुँजीको परिचालन गर्ने भनेकै श्रमजीवि वर्ग हुन् । श्रम र पुँजीलाई सँगै अघि बढाउन आवश्यक छ ।’
श्रमप्रतिको सम्मान गरी श्रम र श्रमीक केही हुन् भन्ने मान्यतालाई विशेष जोड दिइ मुलुकले चाहेको आर्थिक र भौतिक विकासको गति अघि बढाउनु आजको आवश्यकता रहेको उनको भनाइ थियो ।
‘सामाजिक न्यायका लागि हामी सबैबीच कसिलो गठबन्धन आवश्यक रहेकोमा मैले जोड दिएको थिएँ । नेपालमा सबैभन्दा ठूलो श्रमीकहरूको संख्या कृषि क्षेत्रमा रहेको हुनाले व्यवसायिक कृषि कार्यक्रम र कृषि क्रान्तिका कुरा श्रमीकको जीवनमा क्रान्ति ल्याउनकै लागि गरेको हुँ,’ उनले भने ।
राष्ट्रपति पौडेलले श्रमको सम्मान गर्ने संस्कृति नै नेपालको विकासको आधार भएको पनि जिकिर गरे । सफल राजनीतिक परिवर्तनपछि देशले चाहेको विकास र समृद्धिको आधार बन्ने राष्ट्रपति पौडेलको भनाइ थियो ।