गाजा । प्यालेष्टिनी सशस्त्र समूह हमासले आफ्नो कब्जामा रहेकी इजरायली बन्दी लिरी अलबागको भिडियो सार्वजनिक गरेको छ । इजरायलसँग युद्धविराम र बन्दी रिहाईसम्बन्धी सम्झौताबारे कतारमा वार्ता सुरु भएकै समयमा समूहले १९ वर्षीय अलबागको भिडियो सार्वजनिक गरेको हो ।
भिडियोमा अलबागले इजरायल सरकारलाई सम्झौतामा पुग्न अनुरोध गरेकी छिन् ।
सन् २०२३ को अक्टोबरमा हमासले गाजासँगको सीमामा रहेको सेनाको नहाल ओज आधार शिविरमा आक्रमण गरेर ६ जना महिला सिपाहीलाई बन्दी बनाएको थियो । अलबाग तिनै छ जनामध्ये एक हुन् । यीमध्ये पाँच जना अहिले पनि हमासको कब्जामा भएको बताइएको छ । पछिल्लो समयमा गाजामा इजरायलले आक्रमण तीव्र पारेको छ । शनिबारको हवाई आक्रमणको क्रममा ३० जनाभन्दा बढी प्यालेष्टिनीहरूको मृत्यु भएको थियो ।
हमास र इजरायलबिच युद्धविरामको वार्ता सुरु भएको छ । गाजा सहरमा एउटा घरमा गरिएको आक्रमणमा शनिबार ७ जना बालबालिकासहित ११ जना मारिएको हमासद्वारा सञ्चालित नागरिक रक्षा एजेन्सीले भनेको छ । अलबागको अभिभावकले छोरीलाई यस्तो हालतमा देखेर आफूहरूको मुटु टुक्रा टुक्रा भएको भन्दै इजरायली प्रधानमन्त्री बेन्यामिन नेतन्याहुलाई यो ठाउँमा आफ्नै छोरी भएकी भए कस्तो निर्णय गर्थ्यौ, त्यस्तै निर्णय गर्न भनेका छन् ।@एजेन्सी