२३ पुस, काठमाडौं । नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्यहरूले पार्टीभित्रको असन्तुष्टि माथिल्लो तहकै कारणले पैदा हुने गरेको बताएका छन् । केन्द्रीय समितिको बैठकमा बोल्ने नेताहरूले यस्तो बताएका हुन् ।

माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आइतबार केन्द्रीय समितिको बैठकमा ३० पेजको राजनीतिक प्रतिवेदन प्रस्तुत गरेका थिए । त्यसमाथि बोल्ने भनेर १८० जनाले नाम टिपाएका थिए । त्यसमध्ये सोमबार ८० जनाले धारणा राखे । बाँकी एक सय जनाले मंगलबार बोल्दैछन् ।

केन्द्रीय समितिको बैठकमा नेताहरूले पार्टीमा समस्या भए पदाधिकारीहरूमै भएको र पार्टीमा समस्या रहे पदाधिकारीहरुमै रहेको भनेर टिप्पणी गरे । ‘जति धेरैपटक मन्त्री भयो उति धेरै महत्वकांक्षा हुने र असन्तुष्टि बढ्ने देखियो, यो के हो ?’, केन्द्रीय सदस्य शिवराम यादवले मञ्चतिर फर्किएर भने, ‘पार्टीमा केही समया छ भने यही मञ्चमा छ ।’

यादवले प्रश्न गरिरहँदा मञ्चमा माओवादी अध्यक्ष प्रचण्डसहितका पदाधिकारीहरू उपस्थित थिए । प्रचण्डले राजनीतिक प्रतिवेदनउपर उठेका प्रश्नहरूको जवाफ भने बुधबार दिने छन् ।

केन्द्रीय सदस्यहरूले बोल्नेक्रम सकिएपछि बुधबार अध्यक्ष प्रचण्डले प्रतिवेदनमा उठेका प्रश्नहरूको जवाफ दिनेछन् ।

प्रचण्डले जवाफ दिएपछि आगामी कार्य योजना पास गर्दै र कार्य विभाजन लगायत विषयमा निर्णय गर्दै माओवादीको केन्द्रीय समितिको बैठक सकिनेछ ।

नेताहरूले विशेष महाधिवेशनको विषय पनि उठाएका छन् । पूर्वउपराष्ट्रपति नन्दबहादुर पुनको पार्टीमा सक्रियताको विषयमा पनि नेताहरूले चासो राखेका छन् ।

उपराष्ट्रपतिको सक्रियताबारे प्रश्न उठाउनेमा नेताहरू सुदन किरातीलगायत ७ जना छन् ।

नेताहरू अहिलेकै कमिटीलाई आयोजक समिति बनाएर विशेष महाधिवेशनमा जाने र केही समय अभियान चलाएर मात्रै नवौं महाधिवेशनमा जानुपर्ने दुवै पक्षमा प्रस्तुत भएका छन् ।

आइतबार प्रचण्डले आफू नवौं महाधिवेशनबारे प्रष्ट रहेको भन्दै केन्द्रीय सदस्यहरूलाई दुई विकल्प दिएका थिए ।

पहिलो-अहिलेको केन्द्रीय समितिलाई महाधिवेशन आयोजक समिति बनाएर जाने ।

दोस्रो-६ महिना विभिन्न अभियान चलाएर त्यसपछि फेरि केन्द्रीय समितिको बैठक राखेर निर्णय गर्ने ।

प्रचण्डले भनेका थिए, ‘अहिले नै महाधिवेशन आयोजक समिति बनाएर जान पनि कुनै समस्या छैन । ६ महिना विभिन्न अभियान चलाऔं र जनतामा एक खालको ऊर्जा भरेर अगाडि बढौं भन्ने मेरो अर्को प्रस्ताव छ । यी दुई विषयमा यहाँहरूले प्रष्ट धारणा राख्नुहोला ।’

धारणा राख्ने क्रममा नेताहरू भने दुवै मतका पक्षमा देखिएका हुन् । ‘अधिकांश नेताहरू अहिले अभियान चलाउनुपर्ने पक्षमा देखिएका छन् । अहिले पार्टीको अभियान चलाउने समय भएको मत पनि प्रकट भएको छ’, एक नेताले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0