मुम्बई । भारतको मुम्बई सहरमा एउटै नम्बर प्लेट भएका दुई सवारी साधन एकै स्थानमा फेला परेको छ । योसँगै विभिन्न रहस्य खुलेको छ ।
सोमबार कोलाबामा ताज होटल नजिकै एउटै नम्बर प्लेट भएका दुई कार एकै स्थानमा फेला परेका थिए । तीमध्ये एउटाको नम्बर प्लेट सक्कली थियो भने अर्काले आफ्नो गाडीको नम्बर प्लेट हटाएर अर्काको नम्बर राखेका थिए ।
कोलाबा पुलिस स्टेशनका अधिकारीका अनुसार नरीमन प्वाइन्ट निवासी साकिर अली आफ्नो एमएच ०१–ईई–२३८८ नम्बरको गाडी लिएर गेटवे अफ इन्डिया हुँदै गइरहेका थिए । बाटोमा उनले आफ्नै गाडीको नम्बर प्लेट भएको अर्को गाडी देखे । अलीले तत्कालै आफ्नो गाडी नक्कली नम्बर प्लेट भएको गाडीकै सामु रोकेर प्रहरीलाई खबर गरे ।
प्रहरीले उक्त गाडीका चालकलाई नियन्त्रणमा लिएर अनुसन्धान थाल्दा विभिन्न रहस्य उजागर भएका हुन् ।
अनुसन्धानमा संलग्न प्रहरीका अनुसार मुम्बई निवासी प्रसाद कदमले आफ्नो गाडीको नम्बर प्लेट हटाएर अर्काको नम्बर राखेको पाइएको छ । उनको गाडीको नम्बर प्लेट ०१–ईई–२३८३ रहेकोमा त्यसलाई हटाएर ०१–ईई–२३८८ राखेको पाइएको हो ।
गाडीको किस्ता तिर्न नसकेपछि नम्बर प्लेट परिवर्तन
प्रहरीका अनुसार प्रसाद कदमले लामो समयदेखि आफ्नो गाडीको ऋणबापतको किस्ता तिर्न सकेका थिएनन् । फाइनान्स कम्पनीले गाडी जुनसुकै समयमा कब्जामा लिन सक्ने भएपछि उनले नम्बर प्लेट परिवर्तन गरेर चलाउँदै आएका थिए ।
यतिमात्र होइन, कदमले विभिन्न चेक प्वाइन्ट तथा टोल प्लाजामा समेत आफ्नो गाडी रोक्दैनथे । कदमले ट्राफिक नियम उल्लङ्घन गरेबापत जरिवानाका लागि भने अलीको मोबाइल नम्बरमा म्यासेज आउने गर्दथ्यो । आफू जाँदै नगएको ठाउँमा ट्राफिक नियम उल्लङ्घन भएको भनेर जरिवानाका लागि म्यासेज आउँदा उनी चकित हुन्थे ।
यसबारे उनले सम्बन्धित निकायमा गएर जानकारीसमेत गराएका थिए । तर, त्यसको समाधान निस्कन सकेको थिएन ।
त्यसअघि पनि एक चालकले अलीलाई उनको गाडीकै नम्बर प्लेट भएको अर्को गाडी देखिएको भनेर फोटो पठाएका थिए । तर, अली त्यहाँ पुग्दा उक्त गाडी फेला परेन ।
संयोगले अली आफैँले आफ्नो गाडीकै नम्बर प्लेट राखेर चलाइरहेको अर्को गाडी फेला पारे । प्रहरीले नक्कली नम्बर प्लेट राखेर चलाइएको गाडीबाट सुरक्षा उल्लङ्घन सम्बन्धी अन्य कसुर भने नगरेको जनाएको छ । चेक प्वाइन्ट तथा टोलमा गाडी रोक्दा सक्कली कागजात माग्छन् भनेर प्रसाद कदमले गाडी भगाउँदै आएको र त्यसको जरिवाना सक्कली नम्बर प्लेटका गाडी धनी अलीले व्यहोर्दै आउनु परेको रहस्य खुलेको छ ।