काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले सरकारको नेतृत्व गर्ने राजनीतिक दलका शीर्ष नेताहरू संघीयताप्रति उदार बन्न नसकेको बताएका छन् । मंगलबार ललितपुरमा संघीयता सबलीकरणको कसीमा प्रदेशका सवालहरू विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै महामन्त्री थापाले शासकीय जिम्मेवारी लिने राजनीतिक दलका नेताहरू सघीयताप्रति उदार हुन नसक्दा अहिलेको परिणाम आएको बताएका हुन् ।
संघीयताप्रति अनुदार भएर विकासका कामहरू हुन नसक्ने उनको भनाई थियो । महामन्त्री थापाले संघीयतासम्बन्धी बन्न नसकेका कानुन बनेनन् भने सरकारबाट बाहिरिन्छु भन्नेकुरा नयाँ र क्षेत्रीय दलहरूले समेत भन्न नसकेको बताए ।
उनले सबैलाई सरकारमा बस्नका लागि सर्त नराखीकन अघि बढ्ने गरेको बताए । उनले शासन गर्ने ठाउँमा गइसकेपछि अधिकार मुठीमा लिने गरी सोच बनाइने गरेको बताए ।
उनले भने, ‘हामी राजनीतिक दलका नेताहरू, म पनि हो त्यसमा । जसले जसले यो शासकीय जिम्मेवारी लिन्छौँ । हामी कोही पनि संघीयताप्रति उदार छैनौँ । हामी एकदमै अनुदार छौँ । हाम्रो यसमा रुचि छैन । हामी यसलाई यसैबाट अघि बढाउँछौँ भन्ने छैन । मैले नयाँ दल पनि हेरेँ । मैले यो क्षेत्रीय दलहरू पनि हेरेँ । सँगै सरकारमा पनि बस्यौँ । जसले बाहिर जे-जे भने पनि भित्र सरकार चलाउने बेला कसैले पनि सर्त राख्दैन । संघीय निजामती विधेयकमा, संघीय प्रहरी विधेयकमा । निजामती विधेयक र प्रहरी विधेयक पारित नहुने भए म सरकारबाट बाहिरिन्छु भनेर मैले आजसम्म कसैले भनेको सुनेको छैन । कसैले भन्दैन ।’
उनले थपे, ‘सबैले बाहिर भन्छन्, सरकार चलाउने ठाउँमा गइसकेपछि त्यो सबै जना हामी अधिकारलाई कसरी मुठीमा राखिराख्ने भन्ने नै हुन्छौँ । सबै मिल्छौँ हामी । यसले गर्दा दुर्घटना हुने भयो । संघीयता नेपालमा अनवरत चल्छ । प्रदेशहरु रही नै राख्छन् । यो संवैधानिक व्यवस्थाको सबै हामी पक्षमा छौँ । तर हामी प्रदेशहरूलाई, सिंगो संघीय व्यवस्थालाई स्थानीय सरकार पनि यो भित्र पर्छ । हामी यसलाई फङ्सनल बनाउनेवाला भएनौँ अब । यसलाई प्रभावकारी बनाउने भएनौँ । रिजल्ट ओरिएन्टेट बनाउने भएनौँ । यसबाट परिणाम नआउने भयो । ’
महामन्त्री थापाले नतिजा राम्रो नआएपछि सबैले प्रदेशलाई भारी बोकाउने गरेको जिकिर गरे । प्रदेश र स्थानीय सरकारलाई दिने अधिकार दिनुपर्छ भनेर नै अहिलेको सरकारले काम गरिरहेको बताए ।