२३ पुस, काठमाडौं । नेपाल–चीन सीमा क्षेत्रमा पर्ने तिब्बतको दिंगे केन्द्रविन्दु भएर भूकम्प जाँदा नेपालमा १३ जना घाइते भएका छन् ।

केन्द्रीय प्रहरी प्रवक्ता विश्व अधिकारीका अनुसार, काठमाडौंमा १, बारामा ११ काभ्रेमा १ जना गरी १३ जना घाइते भएका हुन् ।

उनीहरू सबैको उद्दार गरेर स्थानीय अस्पतालमा उपचार गराइएको छ । घाइतेमध्ये अधिकांश डिस्चार्ज भइसकेका छन् ।

काठमाडौंमा भूकम्प जानेवित्तिकै स्युचाटारका एक व्यक्तिले घरको छतबाट हामफालेका थिए । त्यसक्रममा उनी घाइते भएका हुन् । उनको मनमोहन मेमोरियल अस्पतालमा उपचार भइरहेको छ ।

प्रहरीका अनुसार, भूकम्पबाट ९ भौतिक संरचनामा समेत क्षति पुगेको छ । तीमध्ये १ पूर्ण रुपमा क्षतिग्रस्त भएको छ । भूकम्पका कारण सोलुखुम्बुको सगरमाथा राष्ट्रिय निकुञ्जको थामे पोष्ट कार्यालय भवनमा पनि क्षति पुगेको छ ।

सोलुखुम्बुको हिमाली क्षेत्रमा अन्यत्रभन्दा बढी धक्का महसुस गरिएको थियो । यद्यपि, यो आरोहरणको सिजन नभएको हुँदा थप क्षति भएन ।

चीनमा भने भूकम्पमा परेर हालसम्म कम्तिमा ९५ जनाको मृत्यु भएको चीनको सरकारी सञ्चार संस्था सीजीटीएनले उल्लेख गरेको छ । स्थानीय अधिकारीहरूलाई उदृत गर्दै सीजीटीएनले १३० जना घाइते भएको भनेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0