२३ पुस, काठमाडौं । नेकपा माओवादी केन्द्रको अर्को केन्द्रीय समितिको बैठक आगामी असारमा बस्ने भएको छ ।

मंगलबार केन्द्रीय समितिको बैठकमा पार्टी अध्यक्ष प्रचण्डले अर्को केन्द्रीय समितिको बैठक आगामी असारमा बस्ने जानकारी गराएका हुन् । उनले भनेका छन्, ‘आगामी असारमा केन्द्रीय समिति बैठक बसेर महाधिवेशनको सेडुअल तोक्ने हो ।’

केन्द्रीय समितिका सदस्यहरूले तत्काल विशेष महाधिवेशनमा जानुपर्ने मत समेत राखेका थिए । कतिपयले तत्काल पार्टी अभियानमा जाने र अभियानपछि महाधिवेशनबारे निर्णय गर्नुपर्ने बताएका थिए ।

आइतबार प्रचण्डले आफू नवौं महाधिवेशनबारे प्रष्ट रहेको भन्दै राजनीतिक प्रतिवेदन पेस गरेका थिए । त्यसक्रममा उनले केन्द्रीय सदस्यहरूलाई दुई विकल्प दिएका थिए ।


पहिलो–
अहिलेको केन्द्रीय समितिलाई महाधिवेशन आयोजक समिति बनाएर जाने ।

दोस्रो – ६ महिना विभिन्न अभियान चलाएर त्यसपछि फेरि केन्द्रीय समितिको बैठक राखेर निर्णय गर्ने ।

प्रचण्डले भनेका थिए, ‘अहिले नै महाधिवेशन आयोजक समिति बनाएर जान पनि कुनै समस्या छैन । ६ महिना विभिन्न अभियान चलाऔं र जनतामा एक खालको ऊर्जा भरेर अगाडि बढौं भन्ने मेरो अर्को प्रस्ताव छ । यी दुई विषयमा यहाँहरूले प्रष्ट धारणा राख्नुहोला ।’

केन्द्रीय सदस्यहरूको धारणा सुनेपछि प्रचण्डले अर्को केन्द्रीय समितिको बैठक आगामी असारमा बस्ने र त्यसले महाधिवेशनको सेडुअल तोक्ने निर्णय सुनाएका हुन् ।

यसबीचमा पार्टी अभियानमा जाने उनले बताएका छन् । उनले भनेका छन्, ‘अबको पहिलो ६ महिना जनजागरण अभियानमा जान्छौं र त्यसपछिको अर्को ६ महिनामा महाधिवेशनतिर जाने हो ।’

अबको महाधिवेशन एकताको महाधिवेशन हुन सक्ने पनि प्रचण्डले बताएका छन् । उनले भनेका छन्, ‘क्रान्तिकारी कम्युनिष्ट बीचको एकतापछि एकताको महाधिवेशन हुन पनि सक्छ ।’

माओवादी केन्द्रले वैज्ञानिक समाजवाद मान्ने पार्टीहरूसँग एकता गर्न संवाद समिति नै बनाउने भएको छ । प्रचण्डले भनेका छन्, ‘पार्टी एकता संवाद समिति तत्काल बनाउने ।’

प्रचण्डले गत आइतबार राजनीतिक प्रतिवेदनमै वैज्ञानिक समाजवाद मान्ने पार्टीहरूसँग एकता गर्ने प्रस्ताव राखेका थिए । यसमा केन्द्रीय सदस्यहरूको सर्वसम्मत धारणा आएको भन्दै प्रचण्डले पार्टी एकता संवाद समिति तत्काल वनाउन घोषणा गरेका हुन् ।

प्रचण्डले माधव नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादी सहितका राजनीतिक दलहरूसँग एकताको पहल गर्ने भनेका छन् ।

प्रचण्डले नेत्र विक्रम चन्द नेतृत्वको नेकपासँग पनि एकताको पहल गर्ने भनेका छन् ।

माओवादी केन्द्रका उपाध्यक्ष अग्निप्रसाद सापटोका अनुसार क्रान्तिकारी शक्तिहरूसँग एकता गर्ने विषय राजनीतिक प्रतिवेदनमै आएको विषय हो ।

सापकोटाका अनुसार वैज्ञानिक समाजवाद मान्नेहरूसित एकताको लागि पहल गर्ने भनिएको हो । उनले यस अन्तर्गत चन्द नेतृत्वको नेकपा, नेकपा बहुमत, एकीकृत समाजवादी, नेपाल समाजवादी पार्टी र प्रभु साह नेतृत्वको आम जनता पार्टी रहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0