काठमाडौँ — पश्चिमी न्यूनचापीय प्रणालीको प्रभावका कारण आज तराईमा हुस्सु लागेको छ भने उच्च पहाडी क्षेत्रमा हल्का हिमपातको सम्भावना रहेको छ ।
आज कोशी, गण्डकी, लुम्बिनी, कर्णाली र सुदुरपश्चिममा आंशिक बदलीदेखि साधारणतया बदली हुने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।
विभागका अनुसार आज दिउँसो देशभर आंशिकदेखि साधारणतया बदली रहने छ । कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थान, लुम्बिनी र गण्डकी प्रदेशका केही स्थान तथा बाँकी भूभागका एक–दुई स्थानमा हल्का वर्षाको सम्भावना छ । साथै देशका उच्च पहाडी तथा हिमाली भूभागका धेरै स्थानमा हल्का हिमपातको सम्भावना रहेको विभागले जनाएको छ ।
त्यस्तै, आज राति कोशी, मधेस र बागमती प्रदेशलगायत देशको पहाडी भूभागमा साधारणतया बदली तथा बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम सफा रहने छ । कोशी, बागमती र गण्डकी प्रदेशका थोरै स्थान तथा बाँकी भू–भागका एक–दुई स्थानमा छिटपुटदेखि हल्का वर्षाको सम्भावना छ । कोशी र बागमती प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका केही स्थानमा तथा बाँकी उच्च पहाडी तथा हिमाली भू–भागका केही स्थानमा हल्का हिमपातको सम्भावना छ ।