२८ पुस, काठमाडौं । जलवायु परिवर्तन र व्यापार दीगोपनका मुद्दा कुनै मुलुक विशेषभन्दा पनि विश्वव्यापी साझा मुद्दा रहेको सरोकारवालाले बताएका छन् ।

यस्तो समस्या सबै मुलुक मिलेर समाधान गर्नुपर्ने उनीहरूको भनाई छ ।

विश्व व्यापार संगठन (डब्लूटिओ) र काठमाडौँ विश्वविद्यालयले आयोजना गरेको ‘दक्षिण एसियामा जलवायु परिवर्तन र व्यापारमा दीगोपना विषयक’ सम्मेलनमा अर्थमन्त्री विष्णु प्रसाद पौडैलले नेपाल जलवायु परिर्तनको उच्च जोखिममा रहेकाले यसको असर आर्थिक, सामाजिक एवम् पूर्वाधार विकासका क्षेत्रमा समेत स्पष्ट देखिएको बताए ।

कम जोखिमयुक्त व्यापार पूर्वाधार विकास गर्न र उत्पादन केन्द्रहरूको समेत विकेन्द्रीकरण गरी आपूर्ति श्रृंखलामा समेत विविधिकरण गर्न आवश्यक रहेको उनको भनाइ छ ।

दक्षिण एसियाली मुलुकमा जलवायु परिवर्तनले सिर्जना गरेको चूनौती र आगामी दिनमा लिनुपर्ने रणनीतिका विषयमा नीति निर्माता, अनुसन्धानकर्ता र निजी क्षेत्रका प्रतिनिधिबीच छलफल गर्न सम्मेलनले सहयोग पुग्ने उनको भनाइ छ ।

जलवायु परिवर्तनबाट नेपाललाई परेको असर र प्रभावको तुलनामा जलवायु परिवर्तनमा नेपालको भूमिका नगण्य रहेकाले नेपालले आफ्नो स्रोत र साधनले संभव भएसम्म जलवायु उत्सर्जन न्यूनीकरण र अनुकूलनका लागि गरेको प्रयास प्राथमिकताका साथ राख्न आवश्यक रहेको उनले बताए ।

ठूलो लगानीमा निर्माण गरेका पुर्वाधार संरचनामा वर्षेनी आउने प्राकृतिक विपत्ति बाढी, पहिरो, भूकम्पका कारण हुने नोक्सानीबाट आपूर्ति श्रृंखलामा पर्ने अवरोधलाई समेत ध्यानमा राखी जलवायुमैत्री विकास प्रक्रियामा क्रियासिल हुनुपर्ने सुझाव उनले दिए ।

सम्मेलनमा काठमाडौं विश्व विद्यालयका रजिष्टार डा. अच्युुत वाग्लेले निजीक्षेत्र मैत्री दीगो आर्थिक विकासको आवश्यक रहेकाले यसले भविष्यको दीगो विकासको लागि टेवा पुग्ने बताए ।

व्यापारमा दीगोपनको सन्दर्भ उठाउँदा राजस्व र करको कुरा मात्र नभई लगानी बढी गर्ने प्रणालीको विकास गर्न आवश्यक रहेको उनले बताए । अहिले जलवायु परिवर्तन र विश्वव्यापी प्रवृत्ति रहेकाले दक्षिण एसियाको व्यापारलाई न्यायोचित र सन्तुुलित तरिकाले प्रवर्द्धन गर्नुपर्ने समेत उनको भनाइ छ ।

सम्मेलनमा रिसर्च सेन्टर फर इन्टरनेशनल ट्रेड ल एण्ड आरबिटेसन इष्टबुुल विलगि युुनिभरसिर्टीका निर्देशक डा.एन पिनर आर्टिरले जलवायुु परिर्वतन र वातावरणीय दिगोपनतालाई ध्यानमा राखेर नेपालले व्यापार अघि बढाउनुपर्ने बताए । कृषि, पर्यटन, व्यापार पुर्वाधार जस्ता विषयमा अध्ययन अनुसन्धान गर्ने वातावरण निर्माण गर्नुुपर्ने उनको भनाइ छ ।

सो अवसरमा उद्योग बाणिज्य तथा आपूर्ति मन्त्रालयका सहसचिव देवराज जोशीले व्यापार र जलवायु परिर्वतनका क्षेत्रमा रहेका समस्या र चुनौतीलाई सम्बोधन गरी दिगो व्यापारमा नेपाल अगाडि बढ्नुपर्ने धारणा राखे ।

दुई दिनसम्म चल्ने सम्मेलनमा भारत, चीन, ट्रकी, बंगलादेश, इन्डोनेसियासहित नौ देशका प्रतिनिधि सहभागि छन् । सम्मेलन आज समापन हुने छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0