१० माघ, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानको जिल्ला अदालत रुपन्देहीमा थुनछेक बहस जारी छ । बुटवलको सुप्रिम सहकारी ठगी प्रकरणमा दायर भएको मुद्दामा बयान दिनका लागि लामिछाने हिजो (बुधबार) अदालत उपस्थित भएका थिए ।

बुधबार दिनभर न्यायाधीश प्रल्हादकुमार योगीको इजलासमा बयान भएको थियो । आजबाट उनको थुनछेक बहस सुरु भएको छ । थुनछेक बहस सुरु हुनुअघि सरकारी वकिलहरूले न्यायाधीश योगीमाथि प्रश्न उठाएका छन् ।

थुनछेक बहसका लागि अदालतमा उपस्थित गराइएका प्रतिवादीलाई परिवारको जिम्मा लगाएर छाडेको भन्दै सरकारी वकिलले प्रश्न उठाएका हुन् । यो मुद्दामा न्यायाधीश योगीले ‘रिक्युर्जन’ लिनुपर्ने सरकारी वकिलहरूको तर्क थियो ।
कानुनी भाषामा रिक्युर्जन भन्नाले ‘मुद्दा हेर्न नमिल्ने घोषणा’ भन्ने अर्थ लाग्छ ।

‘तपाईं (न्यायाधीश)ले हिजै परिवारको जिम्मा लगाएर छाडेपछि थुनछेकको क्रममा बयान दिन आएको मान्छेलाई त्यसरी छाड्न मिल्दैन,’ इजलासमा थुनछेक बहस सुरु हुनअघि सरकारी वकिलले भने, ‘न्यायाधीशको एक किसिमको मानसिकता देखिइसकेको छ । न्यायाधीशले के आदेश गर्छन् भन्ने यसले प्रतिबिम्बित गर्छ । त्यसकारण श्रीमान्‌ले यो मुद्दा नहेर्दा राम्रो हुन्छ ।’

सहकारी पीडितका तर्फबाट बहस गर्न इजलासमा पुगेका वरिष्ठ अधिवक्ताहरू डा. सुरेन्द्र भण्डारी र दिनेश त्रिपाठीले पनि सोही कुरा इजलासमक्ष राखेका थिए । प्रतिवादी तर्फका वकिलहरूले भने ‘रिक्युर्जन’ आवश्यक नभएको जिकिर गरे ।

त्यसपछि न्यायाधीश योगीले आफू मुद्दाबाट पछि नहट्ने अडान लिएपछि थुनछेक बहस सुरु भएको इजलास स्रोतले अनलाइखबरलाई बतायो ।

खाजा ब्रेक सुरु हुनुअघि सरकारी वकिलका ७ जनामध्ये ४ जनाले बहस सकिसकेका छन् । सरकारी वकिलका तर्फबाट अब ३ जनाको बाँकी छ ।

त्यसपछि पीडित र प्रतिवादीका तर्फबाट वकिलहरूले बहस गर्नेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0