काठमाडौँ. । बिपी कोइराला मेमोरियल प्लानेटेरियम तथा अब्जरभेटरी र विज्ञान सङ्ग्रहालयले सौर्यमण्डलका प्रमुख ग्रहहरूलाई सर्वसाधारणलाई अवलोकन गराउने भएको छ । भोलि माघ १४ गते साँझ ६ देखि राति ८ बजेसम्म कीर्तिपुरस्थित विज्ञान संग्राहलयमा टेलिस्कोपको सहायताले अवलोकन गराउने भएको हो ।

पङ्क्तिबद्ध रूपमा आकाशमा एकैसाथ खाली आँखाले अवलोकन गर्न सकिने कार्यकारी निर्देशक डा. सनत कुमार शर्माले जानकारी दिए । अवलोकन गर्न इच्छुक सर्वसाधारणलाई टेलिस्कोपको सहायताले निःशुल्क रूपमा देखाइने शर्माले बताए ।

सुरक्षाकर्मीहरू कवाज खेल्न पङ्क्तिबद्ध भए जस्तै माघ महिनाभरि सौर्यमण्डलका महत्त्वपूर्ण ग्रहहरू पङ्क्तिबद्ध भएर आकाशमा नृत्य गरिरहेको देखिने उनको भनाइ छ । ती ग्रहहरूलाई स्पष्ट रूपमा खाली आँखाले देख्न सकिने उनले बताए ।

उत्तरी गोलार्द्धबाट प्रत्यक्ष रूपमा अवलोकन गर्न सकिने यस रोचक घटनालाई नेपालबाट पनि अवलोकन गर्न सकिने उनको भनाइ छ । माघ दोस्रो हप्तादेखि चौथो हप्ताको समयमा आकाशमा शनि, शुक्र वृहस्पति र मङ्गल ग्रहहरूलाई लामबद्ध भएर एउटै पङ्तिमा आकाशमा नृत्य गरिरहेको हुने शर्माले बताए ।

चारवटा चम्किला ग्रह (सूर्यको प्रकाशको परिवर्तनले गर्दा) बुध, शुक्र, मङ्गल, वृहस्पति तथा शनिग्रहहरू तथा २ वटा मधुरा ग्रहहरू अरुण र वरुण एक साथ आकाशको एउटै भागबाट अवलोकन गर्न सकिने उनको भनाइ छ ।

यस अवधिमा चन्द्रमा मध्य रात्रिमा उदाउनुको साथै यो अर्धचन्द्राकार हुनाले सूर्य अस्ताउने बित्तिकै सफा आकाशमा सहज रूपमा दक्षिण पश्चिम दिशादेखि उत्तर पूर्व दिशामा देख्न सकिनेछ ।

मौसम अनुकूल रहेमा हल्का फिक्का रूपमा रहेको अरुण र वरुण ग्रहलाई पनि टेलिस्कोप र बाइनाकुलरको सहायताले अवलोकन गर्न सकिने शर्माले बताए । यी ग्रहहरू पङ्क्तिबद्ध रहेता पनि यिनीहरूको चित्र एकैसाथ लिन कठिन रहने उनको भनाइ छ ।

काठमाडौँबाट अवलोकन गर्दा प्रकाश प्रर्दुषण न्यून भएको स्थानबाट सूर्यास्त पश्चात् यी ग्रहहरूलाई खाली आँखाले अवलोकन गर्न सकिने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0