बागलुङ — बडिगाड गाउँपालिका–१० आरुपाटामा मंगलबार बिहान खसेको पहिरोमा परेका तीन बालबालिका अझै बेपत्ता छन् । पहिरोमा परेर ७ वर्षकी मधु बुढा, १० वर्षका मनोज बुढा र ११ वर्षका सुमन थापा अझै हराइरहेको एसपी ऋषिराम कँडेलले बताए । उनीहरूको खोजीमा नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीको टोली परिचालन गरिएको छ ।

पहिरोले घर पुरिँदा आरुपाटाका ७८ वर्षीय जोगबहादुर बुढा, १४ वर्षका यमलाल विक, ११ वर्षीया सीता पुन, ८ वर्षीय अमल बुढा, सोही घरमा आश्रय लिन पुगेकी छिमेकी सञ्जु विककी ६ महिने छोरी सीता र ७० वर्षीया मैतीदेवी विकको मृत्यु भएको थियो । चार जना बेपत्ता रहेकामा ३ वर्षका आरुस थापाको शव बुधबार भेटिएको छ ।

घाइते भएका १० जनामध्ये गम्भीर रहेका १९ वर्षीया रिमा पुन, ३१ वर्षीया सीता थापा र ४६ वर्षीया संगीता बुढालाई उपचारका लागि काठमाडौं पठाइएको छ । उनीहरूको राष्ट्रिय ट्रमा सेन्टरमा उपचार भइरहेको गाउँपालिका अध्यक्ष गण्डकी थापाले जानकारी दिइन् । स्वास्थ्यमन्त्री प्रदीप पौडेलले घाइतेको निःशुल्क गर्न र खानेबस्ने व्यवस्था मिलाउन निर्देशन दिएका छन् ।

अर्का गम्भीर घाइते मंगलसिंह बुढालाई थप उपचारका लागि धौलागिरि अस्पताल बागलुङ ल्याइएको छ । मंगलबार बेलुकी प्रतिकूल मौसमका कारण सेनाको हेलिकोप्टर अवतरण हुन नसकेपछि बुधबार बिहान मात्र उनीहरूको उद्धार गरिएको थियो । बाँकी घाइतेको बुर्तिवाङस्थित प्राथमिक स्वास्थ्य केन्द्रमा उपचार भइरहेको छ । घटनास्थल सदरमुकामदेखि १ सय किमि पश्चिममा पर्छ ।

पहिरोले बडिगाड–९ र १० मा ४० भन्दा बढी घर भत्केका छन् । ३ घर पूर्ण रूपमा क्षति भएको सहायक प्रमुख जिल्ला अधिकारी चित्राङ्गत बरालले बताए । ‘क्षति भएका अन्य घरमा पनि बस्न सक्ने अवस्था छैन । गाउँभरिका मानिस कता बस्ने भनेर त्रसित छन्, अस्थायी रूपमा बसोबास गर्ने चुनौती छ,’ उनले भने, ‘वर्षात् रोकिएपछि मात्र उनीहरूको स्थायी बसोबासको पहल हुन्छ ।’ उनका अनुसार बुधबार पनि वर्षात् नरोकिएपछि खोजी उद्धारमा समस्या भएको छ ।

जिल्ला विपद् व्यवस्थापन समितिले पीडितका लागि राहत सामग्री पठाउने तयारी गरेको प्रमुख जिल्ला अधिकारी नेत्र सुवेदीले बताएका छन् । उनका अनुसार अविरल वर्षात् र जतासुकै पहिरो गएका कारण राहत सामग्री वितरण गर्न पनि कठिन छ । घटनास्थल पुग्न बडिगाड गाउँपालिकाको केन्द्रबाट ३ घण्टा पैदल यात्रा गर्नुपर्छ । पीडितलाई सुरक्षित स्थानमा राखेर तत्काल खानेबस्ने व्यवस्थापन मिलाउन निरन्तर लागिपरेको गाउँपालिकाका उपाध्यक्ष भीमसेन वनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0