म पेशाले पत्रकार थिएँ । कुनै कार्यक्रममा स्वयंसेवकको भूमिका निर्वाह गरेको बेला सुमना श्रेष्ठसँग भेट भयो । कामको सिलसिलामा उहाँसँग दुई पटक भेटेकी थिएँ । त्यस बेला उहाँ सांसद हुनुभएको पनि थिएन । जब उहाँ सांसद हुनुभयो, मैले गरेको काम देखेर उहाँले मलाई स्वकीय सचिवको प्रस्ताव गर्नुभयो ।
म न उहाँको कार्यकर्ता न नातेदार । उहाँले गर्नुभएको प्रस्ताव मैले नाइँ भन्नै सकिनँ । पत्रकारिता पेशा छाडेर विदेश अध्ययनको तयारीमा थिएँ, त्यही बेला उहाँ सांसद हुनुभयो । विदेश अध्ययनमा जाने तयारी गरिरहँदा म पनि जागिरको खोजीमा थिएँ । देशको विधायकले गरेको कामको प्रस्ताव मैले नकार्न सकिनँ । उहाँको प्रस्तावलाई सहजै स्वीकार गरें ।
सुमना श्रेष्ठको स्वकीय सचिवको रूपमा काम गरेको १९ महिना भयो । काम गर्दै जाँदा यतिसम्म निकट भएँ कि माननीय सुमना भन्नुपर्नेमा म दिदी भनेर सम्बोधन गर्छु । हाम्रो मत मिल्ने एउटै विषय छ त्यो हो– ‘कुरा होइन काम गर्नुपर्छ ।’ यस अवधिमा सिक्ने राम्रो अवसर पाएकी छु । सिक्दैछु । यो जिम्मेवारीबाट मैले आफू र देशको सिस्टमलाई चिन्ने अवसर पाएकी छु ।
उहाँ नयाँ सांसद, म पनि संसदीय प्रक्रियाको बारेमा जानकारी नभएको व्यक्ति । अब सचिवालय कसरी व्यवस्थापन गर्ने भन्ने मेरो जिम्मेवारीमा आयो । स्वकीय भएर मैले के गर्नुपर्ने हो भन्ने मलाई थाहा थिएन । हामीले सँगै गर्दै सिक्दै गयौं । सांसदलाई संसदीय प्रक्रियामा प्रभावकारी भूमिका निर्वाह गर्न सरकारले स्वकीय सचिव माथि लगानी गरेको रहेछ ।स्वकीयको महत्वपूर्ण भूमिका हुन्छ भन्ने मैले बुझ्दै गएँ । मलाई स्वकीयको नियुक्ति दिएको पत्र सहित सुमना दिदी र मैले संसद् सचिवालयमा जानकारी गरायौं । जीवनको पहिलो पट
क म सिंहदरबार छिरेकी थिएँ । मैले व्यक्तिगत विवरण बुझाएँ । त्यसकै आधारमा परिचय पत्र बन्यो । तर, संसद् सचिवालयबाट स्वकीय भएपछि के गर्ने भन्ने केही जानकारी भने पाइएन ।
त्यसबेला मेरो जिम्मेवारी के हो भन्ने नै यकिन थिएन । यसकारण स्वकीय सचिवको पदीय जिम्मेवारीको विवरण कामसँगै कोर्दै, थप्दै, बढाउँदै लग्यौं । भूमिका स्वकीय सचिवमा मात्रै सीमित भएन, सुमना श्रेष्ठको सचिवालय प्रमुखको भूमिका निर्वाह गर्नुपर्ने थियो ।
सुरुमा दिदीले संसद्मा बोल्नुपर्ने विषय पहिचान गरेर आवश्यक सूचना संकलन गर्यौं । यही क्रममा संसद्को क्यालेन्डरको विषय उठान गर्ने सचिवालयमा रहेका हामीहरूले निधो गरौं । अरू देशको संसद्मा अपनाएको संसद् क्यालेन्डरको विषय अध्ययन गर्यौं । नेपालमा कसरी लागू गर्न सकिन्छ भन्ने नमूना पनि तयार गर्यौं ।
हामीले गरेको अध्ययन र नमूना क्यालेन्डरले संसद्मा प्रवेश पायो । फलस्वरुप संसद्मा क्यालेन्डर पनि लागू भयो । संसद्मा जे बोल्ने हो त्यसको लागि आवश्यक पर्ने सूचना सम्बन्धित निकायबाट संकलन गर्थ्यौं । कतिपय कार्यालयबाट सूचना नदिएपछि सूचनाको हक प्रयोग गरेर पनि सूचना मागेर संसद्मा प्रस्तुत हुने सामग्री तयार गर्यौं । त्यसपछि आफ्नो जिम्मेवारी के हो भन्ने सिक्दै गएँ ।
जब सरकारले संसद्मा विधेयक दर्ता गर्छ, त्यसपछि विधेयकमाथि हाल्ने संशोधनको तयारीमा जुट्छौं । विधेयक आउने बित्तिकै हरेक लाइन पढेर समस्या पहिचान गर्छौं । संशोधनको मस्यौदा तयार गर्नुअघि विधेयकको सरोकारवाला को हो, उनीहरूको के धारणा छ ? यसअघिको कानुनमा के थियो ? अब कस्तो बनाउने भन्ने छलफल गर्छाैं ।
यी छलफलमा दिदी पनि बस्नुहुन्छ र हामीलाई दिशानिर्देश गर्नुहुन्छ, लाइन–लाइन छलफल गर्नुहुन्छ । विधेयकमा के संशोधन हाल्ने भन्ने सार्वजनिक रूपमा आह्वान समेत गर्ने गरेका छौं । त्यसको आवश्यक ‘टुल’ को विकास पनि सचिवालयले गर्ने गरेको छ ।
संशोधन हाल्ने अवधि ७२ घण्टा भित्र संशोधन तयार गरेर संसद् सचिवालयको इमेलमा पठाउने गरेका छौं । हामीले १३ वटा विधेयकमा काम गरिसक्यौं । यसले थप परिपक्व बनाउँदै लगेको अनुभूति भएको छ । काममा रमाउँदा समय गएको पनि पत्तो हुँदो रहेनछ । कतिपय अवस्थामा संशोधन तयार गर्दा रात–दिन जुन बेला पनि काम गर्नुपर्ने हुन्छ ।
यो जिम्मेवारी मेरो हो भनेर अपनत्व लियौं भने काम पनि राम्रो हुँदोरहेछ, सफलता पनि पाइने रहेछ । जब सुमना दिदीले सदनमा बोल्नुहुन्छ, त्यसमा मैले पनि केही सहयोग पुर्याउन सकेकी छु भन्ने महसुस हुन्छ । सदन र सडकमा दिदीले उठाउनुभएको विषयको चर्चा हँुदा सचिवालयको नेतृत्वको हैसियतमा निकै खुसी लाग्छ र थप मिहिनेत गर्न प्रेरणा मिल्छ ।
एउटा स्वकीयको भूमिका प्रशासनिक पनि हुँदोरहेछ । सांसदको दैनिक क्यालेन्डर तयार गरिदिने, समय व्यवस्थापन गरिदिने काम पनि स्वकीयकै हो । जस्तै कुनै कार्यक्रममा सांसदलाई निम्तो आएपछि त्यसमा जाने कि नजाने, यदि जाने हो भने के बोल्ने भन्ने सुझाव दिने वा आवश्यक परे तयारी गर्ने काम पनि स्वकीयकै हो ।
हामीले दिदीको दैनिक क्यालेन्डर वेबसाइटमा सबैले हेर्न मिल्ने बनाएका छौं । कुन दिन के काम छ भन्ने सबैले थाहा पाउँछन् । वेबसाइटमा आवश्यक सामग्री तयार पनि सचिवालयले नै गर्ने गरेको छ । त्यस्तै सचिवालयलाई आएको इमेललाई रेस्पोन्स गर्ने काममा पनि म सक्रिय छु । यदि कसैले विश्वास गरेर इमेल पठाएको हुन्छ अनि त्यसलाई रेस्पोन्स गरिएन भने दिदीप्रतिको विश्वास टुट्न सक्छ ।
स्वकीयको रूपमा दिदीले कुनै ठाउँमा के बोल्नुपर्ने हो सो सम्बन्धी सामग्री तयार गर्ने, त्यसलाई अभिलेख गर्ने, हरेक मन्त्रालय र निकायमा भएको पत्रको अभिलेख गर्ने काम पनि मैले गर्ने गरेकी छु । त्यस्तै कुन विधेयकमा संशोधन गर्न कोसँग छलफल गर्ने, छलफलबाट के निष्कर्ष निस्क्यो, के संशोधन हाल्यो भन्ने यकिन विवरणको अभिलेख पनि राख्ने गरेकी छु ।
त्यस्तै संसद्मा उठाउने विषयका बारेमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय अभ्यासको अध्ययन गर्ने, अब के गर्ने भन्ने उपाय सहितको योजना बनाउने काम पनि सचिवालयले गर्ने गरेको छ । हामीले जे काम गर्छौं, जुन विषय बोल्ने भनिएको हुन्छ त्यसको तथ्य जाँच गर्ने, सम्पादन गर्ने काममा बढी नै जोड दिन्छौं ।
यस्तै सामाजिक सञ्जालका लागि सामग्री तयार गर्ने काम पनि हामीले नै गर्छौं । दिदीले संसद्मा बोलेको कन्टेन र भिडियो तत्काल सामाजिक सञ्जालमा राख्ने काम पनि सचिवालयले गर्छ ।
सांसद र मन्त्रीको स्वकीय हुँदाको फरक अनुभव लिने मौका पनि मिल्यो । सांसद हँुदा स्वीमिङ पुलमा पौडी खेले जस्तो थियो भने मन्त्री भएपछि मेरो भूमिका समुद्रमा पौडी खेले जस्तो भयो । सांसदको स्वकीय हुँदा अनुसन्धानमा बढी आधारित थियो भने मन्त्रालयमा गएपछि भएका नीति नियमलाई कार्यान्वयन गराउन सिस्टमसँग सहकार्य गर्नुपर्ने भयो ।
हरेक विषयलाई कसरी व्यवस्थापन गर्ने भन्ने जिम्मेवारी आयो । मैले यो उमेरमा ब्यूरोक्रेसीसँग मिलेर काम गर्न पाउनु ठूलो अवसरको रूपमा लिएकी छु । नीति बनाउँदा सरोकारवालासँग छलफल गराउने, भएका कानुन र नियममा के समस्या छ, कार्यान्वयनको अवस्था के छ भन्ने बुझाउने मौका पनि पाएँ ।
सांसदलाई स्वकीय किन चाहिन्छ भन्ने पनि मैले अहिले आएर बुझें । सांसदसँग समय हुँदैन । जनतासँग भेट्ने, पार्टीका काममा, सदनमा उपस्थित हुँदा बढी नै व्यस्तता हुन्छ । संसद्मा आफ्नो गतिलो उपस्थिति देखाउन स्वकीयको भूमिका महत्वूर्ण हुने रहेछ ।
संसद् र समितिमा बोल्न होस् वा विधेयकमा संशोधन हाल्न पनि अनुसन्धान आवश्यक पर्छ । यो सबै काम स्वकीयले गर्ने हो । सांसदले जे काम गर्न खोज्नुहुन्छ त्यसमा सहयोगीको भूमिका स्वकीयको हुने रहेछ । त्यस्तै सदन, समिति, सार्वजनिक कार्यक्रममा उठान हुने विषयको सही वा गलत के हो भन्ने सुझाव दिने काम पनि स्वकीयको हुने रहेछ ।
स्वकीय सांसदको कर्मचारी मात्रै होइन, ऊ नागरिक पनि हो । उसले दिने सुझावले सांसदले गलत गर्न लागेको छ भने पनि रोक्न सुझाव दिन सक्छ । सुमना दिदीले यसो गरौं भन्दा मैले नगरौं वा त्यसरी हैन यसरी गरौं भनेर सुझाव दिनसक्छु । स्वकीय सहयोगी मात्रै होइन कि नजिकको सल्लाहकार पनि हो भन्ने मैले बुझेकी छु ।
सांसदले नियुक्ति गर्ने स्वकीयलाई सबै कुरा थाहा नहुन सक्छ । उसलाई परिपक्व बनाउने काम सांसदले मात्रै गर्न सक्दैन । यसको लागि संघीय संसद् सचिवालयको महत्वपूर्ण भूमिका हुन्छ । हरेक स्वकीयको क्षमता अभिवृद्धिमा सचिवालयको योगदान हुनुपर्छ ।
जसरी मलाई शुरुमा अन्योल भएको थियो, अरूलाई पनि हुन सक्छ । सचिवालयले कार्यकाल शुरु भएको धेरैपछि एक पटक अभिमुखीकरण त गरेको थियो तर, त्यसपछि सचिवालयको भूमिका आइडी कार्ड दिने र अभिलेख राख्ने मात्रै भएको छ ।
उसको काम स्वकीयको क्षमता अभिवृद्धिमा पनि हुनुपर्छ । सांसद र संसद् सचिवालयको पुलको काम स्वकीयले गर्ने हो । तर, अहिले त संसदीय समितिको बैठकमा सांसदलाई उपस्थित गराइदिनु भन्दै फोन गर्नमा मात्रै सीमित छ । यसले सचिवालयको जिम्मेवारी पूरा हुन्छ जस्तो लाग्दैन ।
स्वकीयको काम सांसदको फोन उठाउने, कुनै काम गराउन सहयोग गर्छु भनेर बिचौलियाको भूमिका निर्वाह गर्ने, कार्यकर्ता भेट गराउने मात्रै होइन । सांसदलाई संसदीय प्रक्रियामा सक्रिय गराउने समेत हो रहेछ भन्ने मैले बुझेकी छु ।
यो अनुभवले मलाई शासन र प्रशासन बुझ्ने मौका दिएको छ । त्यस्तै मैले स्वकीय सचिवको भूमिकामा रहँदा मेरो पुस्ताको विचार म मार्फत मुलुकको सांसदलाई सुनाउन र बुझाउन पाएकी छु । यसमा गर्व लाग्छ ।