८ कात्तिक, काभ्रेपलाञ्चोक । काभ्रेको मण्डनदेउपुर नगरपालिका–१० चण्डेनीस्थित तीनधारामा निर्माणाधीन नमूना एकीकृत बस्ती निर्माण बजेट अभावका कारण दुई वर्षदेखि रोकिएको छ । राष्ट्रिय पुनःनिर्माण प्राधिकरणले २०७४ मा बस्ती निर्माणको काम थालेको थियो ।

३ वर्षमा सक्ने गरी सुरु भएको काम ‘कोरोना–प्रभाव’लगायत कारण ढिलासुस्ती हुँदै आएको उक्त बस्ती निर्माण बजेट अभावले दुई वर्षदेखि रोकिएको हो । योजनाअन्तर्गत ६ वटा घर बन्न बाँकी छन् भने बनेका घर पनि अधुरा छन् । नमुना बस्ती निर्माण योजनाअन्तर्गत ३० घर र एक सामुदायिक भवन निर्माण गर्नुपर्ने हो ।

बजेट अभावमा दुई वर्षदेखि निर्माण रोकिएको निर्माण समितिले जनाएको छ । उक्त बस्ती निर्माण सम्पन्न हुनुअघिनै प्राधिकरणको म्याद सकिएपछि त्यहाँ घर निर्माणसँगै फिनिसिङको कामसमेत अलपत्र भएको हो ।

बाँकी काम पूरा गर्न नगर कार्यालयले ४० लाख रुपैयाँ सहयोग दिने जनाए पनि अघिल्लो आर्थिक वर्षदेखिनै रकम निकासा नहुँदा बस्ती निर्माणको रोकिएको हो । बस्तीका परिकल्पनाकार एवं स्थानीय अगुवा रामबहादुर लामाका अनुसार नगरको सहयोगबाट बस्तीको बाँकी काम सक्ने योजना बनाइए पनि रकम निकासा नहुँदा अलपत्र भएको हो ।

सरकारको योजनअनुसारनै तामाङ संस्कृतिमार्फत आन्तरिक तथा बाह्य पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले ‘होम–स्टे’सहितको नमुना तामाङ बस्तीको निर्माण थालिएको थियो । नगरप्रमुख टोकबहादुर वाइबाले अघिल्लो चरणमा लगेको पेश्की फर्छयौट भएपछि मात्रै बस्तीको लागि निर्णय गरिएको रकम निकासा गर्न सकिने बताउँदै आएका छन् ।

यसअघि नगरले १० लाख रुपैयाँ सहयोग गरेको थियो । उक्त सहयोगबाट जस्तापातालगायत निर्माण सामग्री खरीदका कागजपत्र नगरमा पेस गरिएको समितिले जनाएको छ । प्राधिकरणबाट पनि समयमा रकम निकासा नहुँदा बस्ती निर्माण समितिले ऋण गरेर निर्माणलाई निरन्तरता दिएको निर्माण समितिका अध्यक्ष आइतमान तामाङले बताए ।

केही वर्षअघिसम्म स्थानीयस्तरमै पटकपटक ५४ लाख रुपैयाँ ऋण लिएर र जनश्रमदानले बस्ती निर्माणको कामलाई निरन्तरता दिइएको तामाङले बताए । प्राधिकरणबाट दुई करोड ८० लाख रुपैयाँ रकम निकासा भएको उनले जानकारी दिए ।

तामाङका अनुसार उक्त रकमबाट एकीकृत बस्तीमा पहूँच सडक तथा अन्य सांस्कृतिक संरचना बनाउन खर्च भएको छ । काभ्रेपलाञ्चोकको मण्डनदेउपुरस्थित तीनधारामा तामाङ संस्कृतिमार्फत आन्तरिक तथा बाह्य पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले होम–स्टेसहितको नमुना तामाङ बस्ती निर्माण सुरु गरिएको थियो ।

तीनकोठे एकतले एकै डिजाइनका एक घर निर्माण गर्न जनश्रमदान बाहेक १३ लाख रुपैयाँ लाग्ने अनुमान गरिएको थियो । बस्ती निर्माणार्थ जनश्रमदानमा पनि स्थानीय निकै महिना खटेका थिए । स्थानीय युवा विरेश तामाङले सुन्दर बस्ती बनाउने योजनामा सबैले जनश्रमदानमार्फत साथ दिएको बताए ।

स्थानीय पञ्चकुमारी तामाङ एकीकृत बस्ती निर्माण सुरु भएपछि डेढसय दिन खटिएका थिए । ‘गाउँमा एकै ठाउँमा चिटिक्कका घर बनाएर बस्ने र पर्यटक ल्याउने भनेपछि हामी सबै गाउँले काम गर्न जान्थ्यौँ, पैसा छैन भनेर काम रोकिएको दुई वर्ष भैसक्यो’, पञ्चकुमारीले भनिन् ।

पञ्चकुमारीले आफूलाई भूकम्पपीडितबापत आवास निर्माणका लागि सहयोग संस्थाबाट आएको पहिलो किस्ताको ५० हजार रुपैयाँ पनि प्राधिकरणको सहमतिअनुसारनै पाँच वर्ष अघिनै बस्ती निर्माणका निम्ति प्रदान गरेका थिए । त्यसपछि सरकारसँग सम्झौता गरी तीनधाराका ३० भूकम्पपीडित परिवारलाई पहिलो किस्ताको आवास निर्माण अनुदान दिने कारितास् नामक संस्थाले बाँकी किस्ता उपलब्ध नगराएपछि ऋण लिएर स्थानीयले बस्ती निर्माणलाई निरन्तरता दिँदै आएका थिए ।

०७७ चैतमा सरकारी निकायबाट विभिन्न शीर्षकमा एक करोड ४० लाख रुपैयाँ निकासा हुँदा ऋणले पिरोलिएका तीनधाराका बासिन्दाले कामलाई तीव्र पारेका थिए । बस्ती निर्माणका लागि स्थानीय ३० भूकम्पपीडितको आवास निर्माणका लागि आएको पहिलो किस्ताको ५० हजार पनि खर्चिइएको हो ।

बस्ती निर्माण कार्ययोजनाअनुसार ३० घरले अनिवार्य होम–स्टेका लागि एउटा कोठा व्यवस्था गर्नुपर्ने सम्झौता भएको थियो । नमुना बस्तीमा ४० लाख रुपैयाँमा एक सामुदायिक भवन निर्माण भएको छ ।

उक्त सामुदायिक भवनमा विवाह, व्रतबन्ध, घेवा, तामाङ रीतिरिवाज, संस्कृति झल्काउने तामाङले पुज्ने देवीदेवता, जाँतो, ढिकी, डम्फु, ढ्याङग्रोलगायतका सामाग्री सङ्ग्रह गरिने तथा तिनका बारेमा जानकारी दिने योजना थियो । ६ घरको एक ‘ब्लक’ बनाएर छुट्टाछुट्टै पाँच ब्लकमा ३० वटा घर बनाउने योजनाले पूर्णता नपाउँदा तीनधाराका बासिन्दा खिन्न भएका छन् ।

@रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0