८ कात्तिक, काठमाडौं । साफ वुमन्स च्याम्पियनसिप २०२४ अन्तर्गत समूह चरणको अन्तिम दुई खेल आज हुँदैछ ।

आज समूह बी मा रहेको घरेलु टोली नेपालले श्रीलंकासँग खेल्नेछ भने भुटान र माल्दिभ्सबीच प्रतिस्पर्धा हुनेछ । यी दुई खेलपछि सेमिफाइनल समिकरण पनि तय हुनेछ ।

समूह बी बाट आयोजक नेपालसहित भुटान र श्रीलंका सेमिफाइनल पुग्ने होडमा छन् भने लगातार दुई खेल हारिसकेको माल्दिभ्स समूह चरणबाटै बाहिरिसकेको छ ।

नेपाल र भुटान यस समूहमा अपराजित छन् र दुवैको समान ४ अंक छ । गोलअन्तरमा नेपाल अघि छ । पहिलो खेलमा नेपाल र भुटानले गोलरहित बराबरी खेलेका थिए । दोस्रो खेलमा नेपालले माल्दिभ्सलाई ११-० ले हरायो भने भुटानले श्रीलंकालाई ४-१ ले पराजित गर्‍यो ।

नेपाल र श्रीलंका तथा भुटान र माल्दिभ्सबीचको खेलको नतिजापछि समूह बी बाट सेमिफाइनल पुग्ने दुवै टोलीको टुङ्गो लाग्नेछ ।

भुटान र माल्दिभ्सबीचको खेल दिउँसो साढे १ बजे सुरु हुनेछ । यस्तै नेपाल र श्रीलंकाबीचको खेल साँझ साढे ५ बजे सुरु हुनेछ । दुवै खेल त्रिपुरेश्वरस्थित दशरथ रंगशालमा हुनेछ ।

भुटानले माल्दिभ्सविरुद्ध हार टारेमा दोस्रो खेलमा जस्तो नतिजा आएपनि सेमिफाइनल पुग्नेछ । भुटान पराजित भएमा भने नेपाल र श्रीलंकाबीचको खेलको नतिजा कुर्नुपर्नेछ ।

यदि भुटान माल्दिभ्ससँग पराजित भएमा र नेपालले श्रीलंकालाई हराएमा भने नेपाल र भुटान सेमिफाइनल पुग्नेछ ।

नेपालले पनि श्रीलंकाविरुद्ध हार टारे सेमिफाइनल पुग्नेछ । भुटान र माल्दिभ्सबीचको खेल पहिले हुने भएकोले नेपाललाई दोस्रो खेलमा आफूअनुकुल नतिजा निकाल्न केही सहज हुनेछ ।

श्रीलंकाको लागि भने सेमिफाइनल पुग्न नेपाललाई हराउनैपर्नेछ ।

समूह ए बाट बंगलादेश र भारत सेमिफाइनल पुगिसकेका छन् । बंगालदेशले अन्तिम खेलमा भारतलाई हराएर समूह ए को विजेता बन्दै समिफाइनल पुगेको हो भने भारत उपविजेताको हैसियतमा सेमिफाइनल पुगेको हो ।

समूह बी को अन्तिम दुई खेल हुँदा सेमिफाइनलको सम्भावित प्रतिद्वन्दीमा पनि नजर हुनेछ । समूह बी को विजेता बन्ने टिमले सेमिफाइनलमा भारतसँग प्रतिस्पर्धा गर्नुपर्नेछ । यस्तै समूह बी को उपविजेता टिमले पहिलो सेमिफाइनलमा बंगलादेशसँग खेल्नेछ ।

दुवै सेमिफाइनल खेल आइतबार हुनेछ भने फाइनल खेल आउने बुधबार हुनेछ ।

@अनलाइनखबर

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0