९ कात्तिक, काठमाडौं । बंगालको खाडीमा विकसित चक्रवातले भारतका ओडिशा र पश्चिम बंगालमा आतंक सिर्जना गरेको छ । यो चक्रवातलाई ‘दाना’ नाम दिइएको छ ।

यो चक्रवात पछिल्लो दुई महिनामा भारतीय तटमा आएको दोस्रो चक्रवात हो । यसअघि अगष्टको अन्त्यतिर ‘असना’ नामको चक्रवातले जनजीवन प्रभावित भएको थियो ।

हरेक चक्रवातलाई एउटा–एउटा नाम राख्ने चलन छ । अहिलेको पछिल्लो चक्रवातलाई ‘दाना’ नाम दिइएको छ । आखिर यी चक्रवातको नामकरण कसले र कसरी गर्दछ ?

सबैभन्दा पहिले चक्रवात के हो भन्ने बुझौं ।

चक्रवात एक विशाल वायु प्रणाली हो, जुन कम दबावयुक्त क्षेत्रको केन्द्र भागबाट चारैतिर घुम्छ । चक्रवातको मुख्य विशेषता नै चक्रजसरी घुम्ने हावाको वेग हो, जुन उत्तरी गोलार्धमा घडीको सुईको विपरीत दिशामा र दक्षिणी गोलार्धमा घडीको सुई घुम्ने दिशामा घुम्दछ । यसबाट तीव्र वेगमा आँधी चल्छ । र त्यो आँधीले उडाएर ल्याएको बादलले वर्षा पनि गराउँछ । सागरबाट बहँदै जमिनमा बज्रिएपछि तुफानको शक्ति पनि क्षीण हुँदै यसको विशेषता हुन्छ ।

विज्ञहरुका अनुसार चक्रवातको पहिचान गर्न र मानिसहरुलाई जागरुक बनाउन नाम राख्ने गरिन्छ । त्यसको पनि विश्व मौसम संगठनले तय गरेको निश्चित विधि, प्रक्रिया र चक्रवातका लागि बनाइएका मानकअनुसार नामकरण गरिन्छ ।

सन् २००० मा विश्व मौसम विज्ञान संगठनको एशिया र प्रशान्त क्षेत्रका लागि संयुक्त राष्ट्र संघको आर्थिक तथा सामाजिक आयोगबाट नाम राख्ने चलन सुरु भएको थियो । त्यतिबेला यो समूहमा बंगलादेश, भारत, मालदिभ्स, म्यानमार, ओमान, पाकिस्तान, श्रीलंका र थाइल्याण्ड सामेल थिए । त्यसपछि यो समूह विस्तार भयो । र, सन् २०१८ मा यसमा अरु पाँच देश इरान, कतार, साउदी अरब, युएई र यमन पनि थपिए । यी देशहरुले पालैपालो चक्रवातको नाम राख्ने अवसर पाउँछन् । यसैअनुसार ‘दाना’ चक्रवातको नामकरण गर्ने अवसर कतारले पाएको हो ।

‘दाना’ नाम अरबी भाषाबाट लिइएको हो । यसको अर्थ ‘उदारता’ हुने गर्दछ । यसरी नाम राख्दा तुफान प्रभावित देशहरुबीच जागरुकता र साँस्कृतिक आदान–प्रदानलाई बढावा मिल्ने विश्वास व्यक्त गरिन्छ । साथै यसमा सूचना आदान प्रदानको प्रणाली पनि मजबुत हुने बताइन्छ ।

विश्व मौसम संगठनमा नेपाल पनि सामेल छ । तर नेपालले नाम राख्ने अवसर पाउँदैन । किनभने नेपालमा समुद्र नभएको र चक्रवातको प्रत्यक्ष असर पनि नपर्ने भएकाले नेपालले नाम राख्ने गर्दैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0