९ कात्तिक, काठमाडौं । ट्राफिक प्रहरीले काठमाडौंका चोकचोकमा ‘नो हर्न’ लेखिएका प्ले कार्डसहित अनावश्यक हर्नको प्रयोग निरुत्साहन अभियान थालेको छ । ट्राफिक प्रहरीले कात्तिक १ गतेदेखि सडक सचेतना जगाउन प्रहरीले प्लेकार्डसहित सवारी चालकलाई अनावश्यक हर्न नबजाउन अनुरोध गर्न थालेको हो ।

काठमाडौं उपत्यकामा २०७४ वैशाख १ गतेदेखि ‘हर्न निषेधित क्षेत्र’ घोषणा गरेको थियो । सुरुआती दिनमा ‘नो हर्न’ अभियान प्रभावकारी भए पनि फेरि हर्नको प्रयोग बढ्न थालेको भन्दै ट्राफिक प्रहरी सक्रिय भएको हो ।

सवारी तथा यातायात व्यवस्था ऐन २०४९ ले समेत ध्वनी संकेत दिन निषेध गरेको स्थानमा ध्वनी संकेत दिएमा वा वजाएमा ट्राफिक नियम उल्लंघन हुने स्पष्ट व्यवस्था छ । कानुनी व्यवस्था हुँदाहुँदै पनि कतिपय चालकहरुले लापरवाही गर्दै आएको प्रहरीको भनाइ छ । ‘ध्वनी प्रदुषणको असर बारेमा चेतनाको अभावले आम नागरिक वर्षौं देखि सवारी साधनहरुले उत्पन्न गर्ने कर्कस ध्वनि प्रदूषणको सिकार हुनुपरेको छ’, काठमाण्डौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले भनेको छ ।

काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रमुख प्रहरी नायव महानिरीक्षक भरतबहादुर बोहराले उपत्यकामा गुड्ने करिब १५ लाख सवारी साधनहरुबाट निस्किने धुवाँसँगै ध्वनीको प्रदुषणको कारण जनस्वास्थ्यमा ठूलो असर गरेको बताए । उनले भने, ‘जसको प्रत्यक्ष मारमा स्वयं ट्राफिक प्रहरी छन् ।’

गत आर्थिक वर्ष २०८०/८१ मा अनावश्यक रुपमा हर्नको प्रयोग गर्ने १० हजार १२३ सवारी साधनलाई ट्राफिक प्रहरीले कारवाही गरिएको थियो । यो वर्ष पनि १३ हजार तीन सवारी साधनलाई कारबाही गरिएको ट्राफिक प्रहरीले जनाएको छ । नो हर्न प्लेकार्डसहित सचेतना कार्यक्रम सुरु गरेयता मात्रै ९६६ जना कारबाहीमा परिसकेको बोहोराले जानकारी दिए ।

सामान्यत मानिसको सामान्य सुन्ने क्षमता २६ डेसिबलसम्म हुने र सुन्न ६० डेसिबलसम्मको ध्वनी स्वीकारयोग्य हुन्छ भने ७० डेसिबलको ध्वनी स्वास्थ्यको लागी हानिकारक मानिन्छ । ध्वनि प्रदूषणले श्रवण शक्तिमा ह्रास हुने, रक्तचाप बढ्दै जाने, हृदयघात हुने, पक्षघात हुने, श्वासप्रश्वास प्रणालीमा असर हुने, स्मरण शक्तिमा कमी आउने लगायत असर गर्ने गर्दछ ।

जथाभावी रुपमा साइलेन्सरलाई मोडिफाई गरेर, फिल्टर निकालेर वा कम्पनीबाट नै ठूलो आवाज निकाल्ने मोटरसाइकलहरु र प्रेसर हर्न बजाउने सवारी साधनले बढी ध्वनी प्रदूषण गर्ने गरेको ट्राफिक प्रहरीको भनाइ छ ।

जथाभावी हर्न बजाउँदा पैदलयात्री र त्यसमा पनि बालबालिका, जेष्ठ नागरिक, गर्भवती महिला, अशक्त बिरामी बढी मारमा पर्ने गरेको ट्राफिक प्रहरीका प्रवक्ता डिएसपी रविन कार्कीले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0