४ पुष, सप्तरी। सप्तरीमा छोरीको हत्या र छोरा बेपत्ता पार्नेहरुमाथि कारबाहीको माग गर्दा एक महिलालाई ज्यान मार्ने धम्की आउन थालेको छ ।

जिल्लाको डाक्नेश्वरी नगरपालिका-१ कविलासा बस्ने ५५ वर्षीया चन्द्रदेवी साहलाई छोरीको हत्या र छोरा बेपत्ता पार्नेहरुमाथि कारबाहीको माग गर्दा विपक्षी आरोपीका आफन्तबाट ज्यान मार्ने धम्की आउन थालेको हो ।

गाउँमा बस्न असुरक्षित भएको भन्दै बिहीबार राजविराज आइपुगेकी उनी गाउँमा सुरक्षित बस्ने वातावरणका लागि पहल गरिदिन सञ्चारकर्मीहरुसँग याचना गरेकी छिन् ।
साहका १९ वर्षीया छोरी सन्तोषीको हत्या र १७ वर्षीय छोरा आशिषलाई तीन वर्षअघि बेपत्ता पारिएको थियो ।

तीन वर्ष पुरानो घटनाका आरोपी मध्येका एक सोही वडाका नव निर्वाचित वडाअध्यक्ष धिरेन्द्र कुमार साहलाई प्रहरीले पदभार ग्रहण समारोहबाटै पक्राउ गरेको थियो। उनीमाथि प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।
पक्राउ परेका साह यही मंसिर १६ गते सम्पन्न उपनिर्वाचनमा जसपा नेपालबाट उम्मेदवार भई वडा अध्यक्ष पदमा निर्वाचित भएका थिए ।

सप्तरी जिल्ला अदालतबाट १०/१० दिन गरी दुई पटक म्याद थप गरी साहमाथि अपहरण तथा शरीरबन्धक, जबरजस्तीकरणी, कर्तव्य ज्यान लगायतका मुद्दामा अनुसन्धान भइरहेको प्रहरी उपरीक्षक ढकेन्द्र खतिवडाले जानकारी दिए ।

‘पक्राउ परेका साह र अन्य फरार प्रतिवादीका आफन्तबाट दिनहुँ जसो मुद्दा फिर्ता नलिए ज्यानै लिने धम्की आउन थालेको छ’ उनले रुदै भनिन्, ‘प्रतिवादी आफन्तहरु खेतमा, बजारमा र घरमा जहाँ पनि पुगेर मुद्दा फिर्ता नलिए तेरो अवस्था पनि छोरी र छोरा आशिष जस्तै पारिदिन्छु भन्दै धम्क्याउन थालेको छ ।’

यसबारे इलाका प्रहरी कार्यालय कल्याणपुरमा बिहीबार नै पुगेर प्रहरी अधिकारीहरुलाई धम्कीबारे जानकारी गराइएको बताउँदै कतैबाट सहयोग नपाएपछि आफू गाउँ छोड्न बाध्य हुने उनको भनाइ छ ।

गत २०७९ साउन १७ मा भएको घट्नामा सन्तोषीको अपहरण तथा शरीर बन्धक, जबरजस्तीकरणी, कर्तव्य ज्यान लगायतका अपराध गरेको आरोपमा साह सहित अन्य केही व्यक्ति माथी जाहेरी परेको र अन्य आरोपीहरुको खोजीकार्य भइरहेको प्रहरीले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0