४ पुस, काठमाडौं । नेपाली कांग्रेसको क्रियाशील सदस्यताको कुनै संरचनाले रोकेर राखेको भेटिए केन्द्रले हस्तक्षेप गर्ने भएको छ । सदस्यता व्यवस्थापन समितिको आज बसेको बैठकले सदस्यता फारम रोकेर राख्ने प्रवृत्तिलाई रोक्ने निर्णय गरेको हो ।

‘उपल्लो तहले सदस्यता फारम रोकेर राखेको भेटियो भने त्यसमा गाँठो फुकाउने कुरा भएको छ,’ व्यवस्थापन समितिका सदस्य प्रकाश स्नेही रसाइलीले भने, ‘कहाँ–कहाँ होल्ड गरिएको छ । त्यसबारेमा अर्को बैठकबाट निर्णय लिन्छौं ।’

आजको बैठकमा फारम रोकेर काम नगरिएका स्थान बारेमा छलफल भएको थियो । बैठकमा गुटगत समस्याले पनि सदस्यता वितरण र नवीकरणका कार्य प्रारम्भ हुन नसकेको व्यवस्थापन समितिले जनाएको छ ।

१४ औं महाधिवेशनको इगो र विवाद अहिले पनि देखिएको बारेमा छलफल भएको थियो ।

‘ती जिल्लामा पार्टी सभापतिले फर्म लिएर तल्लो निकायमा नदिएको भन्ने अब हुँदैन । जिल्ला सभापतिले फर्म रोकेको भेटिए केन्द्रले हस्तक्षेप गर्छ,’ उनले भने ।

सदस्यता व्यवस्थापन समितिको अर्को बैठक १८ पुसमा बस्ने भएको छ । महामन्त्री गगन थापाको नेतृत्वमा रहेको समितिमा केन्द्रीय सदस्यहरू सीता गुरुङ, रसाइली र योगेन्द्र चौधरी सदस्य छन् ।

महाधिवेशन भएको वर्ष सदस्यता वितरण र नवीकरण गर्न नपाउने विधानको व्यवस्था छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0