इजरायलले हमास र वरिपरिका देशमा गरेको हमलासँगै इरानको प्रत्याक्रमण देखेका कतिपय देशले इजरायली प्रतिरक्षा प्रणाली खरिदमा इच्छा देखाएका छन्। जसका कारण इजरायली प्रतिरक्षामा लगानी गरेका कम्पनीहरूले ठुलो नाफा कमाउने देखिएको छ।
गत डिसेम्बरमा स्लोभाकियाको रक्षा मन्त्रालयले इजरायलको प्रतिरक्षा प्रणाली खरिदका लागि ५७ करोड ९१ लाख डलरबराबरको सम्झौता गरेको छ। यस सम्झौताअन्तर्गत स्लोभाकियाले इजरायलको एरोस्पेस इन्डस्ट्रीले उत्पादन गर्ने हवाई प्रतिरक्षा प्रणाली प्राप्त गर्नेछ। बाराक एमएक्स नामक सो प्रणालीले अन्य देशका क्षेप्यास्त्रहरूबाट जोगाउने वाल स्ट्रिट जर्नलले लेखेको छ।
इजरायलका युद्ध सामग्री उत्पादक कम्पनीहरू एल्बिट सिस्टम, राफेल एडभान्स्ड डिफेन्स सिस्टम्स र इजरायल एरोस्पेस इन्डस्ट्रीले मात्र सारा युद्ध सामग्रीको ७० प्रतिशत निर्यात गर्न थालेको छ। ती कम्पनीले वर्षौंपछि सबैभन्दा राम्रो व्यापार गरेको प्रतिक्रिया दिएका छन्। तिनले उत्पादन गरेका सैन्य सामग्री इजरायल स्वयंले खपत गर्नेदेखि लिएर विदेशमा समेत निर्यात हुन थालेपछि उनीहरूको आम्दानी उच्च दरमा बढेको जर्नलले जनाएको छ।
पछिल्लो समय इजरायली कम्पनीहरूको आम्दानी २५ प्रतिशतले बढेको छ। सन् २०२३ मा भने वर्षभरि नै आम्दानीको २३ प्रतिशत बढी प्रतिफल ल्याएको थियो। सो वर्ष उसले आफ्नो आम्दानी उच्च रहेको बताएको थियो। यससँगै हतियार बेचेर सन् २०२४ को तेस्रो त्रैमासमै उसको आम्दानी ६३ अर्ब डलर पुगेको छ। संसारभर युद्धको छाया देखा परेसँगै शक्तिशाली हतियारको माग बढ्न थालेको छ।
सो मागलाई युरोप र अमेरिकाले तत्कालै पूर्ति गर्ने अवस्था नरहेको तर इजरायल युद्धको अवस्थामा रहेकाले उसले तुरुन्तै उत्पादन गरी बजारमा पठाउन सकिने अवस्था रहेपछि कतिपय देशहरू इजरायलको उत्पादनतर्फ आकर्षित भएको स्टकहोमस्थित इन्टरनेनल पिस रिसर्च इन्स्टिच्युट (आइपिएसआई) ले जनाएको छ।
इजरायलको युद्ध गर्ने पछिल्लो शैलीको आलोचक रहेकै कतिपय युरोपेली मुलुकले उसका हतियार किन्न इच्छुक देखिएको आइपिएसआईका वरिष्ठ शोधकर्ता पिटर वेजम्यानको भनाइ छ। यतिबेला इजरायलले आफूलाई चाहिने हतियारहरू भण्डारण गर्न तीव्र गतिमा उत्पादन गरिरहेको छ। हतियार उत्पादक इजरायली कम्पनीहरूले आफ्नै देशको माग धान्न तीव्र गतिमा हतियार उत्पादन गरिरहेका छन्।
इजरायल एरोस्पेस इन्डस्ट्रीले देशको आवश्यकता हेरी आफ्नो हतियार उत्पादनलाई अतिरिक्त सिफ्टमा उत्पादन गरिरहेको छ। यसको अर्थ सातै दिन चौबिसै घण्टा नबिराई काम भइरहेको छ। देशभित्रै र बाहिर पनि उच्च मागका कारण चौबिसै घण्टा उत्पादन गर्नुपर्ने बाध्यता रहेको एरोस्पेसले जनाएको छ।
इजरायलमा यतिबेला ६ हजारभन्दा बढी कामदारको खोजी भइरहेको छ। झन् पछि अन्य देशबाट हतियारको माग आएको खण्डमा थप जनशक्ति चाहिने उसले देखिरहेको छ। यसका लागि अन्यत्रबाट हाइटेक हतियार उद्योगतर्फ कामदारहरू आकर्षित भइरहेको म्यानुफ्याक्चर्स एसोसिएसन अफ इजरायलले बताएको छ।
इजरायलमा युद्ध सुरु भएपछि अन्य क्षेत्रमा लगानी कम हुनु र रक्षा बजेटमा बढोत्तरी हुनुसँगै धेरै कामदार रक्षा उद्योगतर्फ आकर्षित भएका छन्। रक्षातर्फ तुलनात्मक रूपमा बढी तलब भएका कारण पनि अन्य प्रविधि क्षेत्रमा काम गरिरहेका युवाहरू यसतर्फ आकर्षित भएका हुन्। कुनै बेला औषधी उत्पादक कम्पनीहरूसमेत यतिबेला राडार उत्पादन गर्न थालेबाट युद्ध सामग्री उत्पादनमा भएको फाइदा कारक रहेको देखिएको विशेषज्ञहरू बताउँछन्।