८ माघ, काठमाडौं । प्रतिनिध सभा सदस्य लेखनाथ दाहालले लेखा समिति सरकारको लाचार छाया बनेको आरोप लगाएका छन् ।
सिंहदरबारमा जारी सार्वजनिक लेखा समितिको बैठकमा बोल्दै उनले भने, ‘सार्वजनिक लेखा समिति सरकारको लाचार छाया जस्तो भयो । यस्तो बनाउँन हुदैन । हामीसँग ९५ उजुरी छन् । छलफल गरेर अगाडि जानुपर्नेमा डन्पिङ गरेर राखिएको छ ।’
उनले लेखा समितिको नेतृत्व प्रतिपक्षीलाई नदिनुमा सरकारको कुकर्म ढाकछोप गर्ने बदनियत रहेको आरोपसमेत लगाए । ‘लेखा समिति नेतृत्व पनि प्रतिपक्षीको हुनुपर्ने हो । तर, यहाँले नै नेतृत्व गरिराख्नु भएको छ । जबरजस्त नेतृत्व खोसिराख्नुभएको छ । यसमा सरकारको कुकर्म ढाकछोप गर्ने बदनियत देखिन्छ’, उनले भने ।
दाहालले सभापति ऋषिकेश पोखरेललाई मार्गप्रशस्त गर्न पनि आग्रह गरेका छन् । ‘सभापतिले प्रतिपक्षीको नेतृत्व हुनका लागि मार्गप्रसस्त गर्नु आवस्यक छ’, दाहालले भने ।