८ माघ, काठमाडौं । मंगलबार दिउँसो चितवनको भरतपुर विमानस्थलमा पूर्वप्रधानमन्त्री समेत रहेका माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग सत्तारुढ दल कांग्रेसका दुई नेताको जम्काभेट भयो ।

प्रचण्डसँग कांग्रेसका नेता शशांक कोइराला र चन्द्र भण्डारीबीच जम्काभेट भएको थियो । विमानस्थलमा तीनै जना नेता भएपछि सञ्चारकर्मीले सरकारको आयुबारे प्रश्न गरे ।

यसअघिदेखि नै पटक पटक सरकारको आयु लामो नभएको बताउँदै आएका प्रचण्डले अहिले पनि आफूहरूको प्राथमिकतामा सरकार नभएको जिकिर गरे ।

‘हाम्रो प्राथमिकतामा सरकार छैन । मैले धेरैचोटी भनेको छु । हाम्रो प्राथमिकता जनतासँगको सम्बन्ध विस्तार गर्ने कुरामा छ,’ प्रचण्डले भने, ‘तर, यो सरकार धेरै जान्छ भन्ने हामीलाई लाग्दैन । यो प्रष्ट भन्दै आएको छु, प्राकृतिक छैन, स्वभाविक छैन, पारदर्शी पनि छैन । फेरि गरेका काम पनि उल्टा/उल्टा हुँदै गएका छन्, अहिले अध्यादेशसम्म आउँदा त लाजैमर्दो भएको छ ।’

प्रचण्डले सरकारबारे यस्तो बताइरहँदा सँगै बसेको नेता भण्डारी असहज महसुस गरिरहेको देखिन्थे ।

प्रचण्डले थप भने, ‘हामी चिन्तित छौं, गइदिए हुन्थ्यो भन्ने हो, ०८४ सम्म गए पनि ठिकै हो । जाँदैन भन्ने पो चिन्ता छ हामीलाई । गएन भने कांग्रेस त पार्टनर छँदैछ हाम्रो ।’

प्रचण्डले यति भन्दा अर्का नेता शशांक झनै असहज मान्न थाले ।

उनी जुरुक्क उठेर पत्रकार सम्मेलन भएको स्थानबाट मोडिन खोज्दै थिए । केही सञ्चारकर्मीले उनलाई रोकेर प्रचण्डलाई नै गरेको प्रश्न दोहोर्‍याए ।

जवाफमा उनले भनेका छन्, ‘ठूलो दलहरू मिलेर स्टेबल सरकार जुन बनेको छ, एक किसिमको स्टेबल नै छ । राजनीतिमा जे पनि हुन्छ, नहुने त होइन । तर, हामीले स्थिर सरकार दियौं भने विकासको काम हुन्छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0