काठमाडौँ । सत्तारुढ नेकपा (एमाले) का प्रमुख सचेतक महेश बर्तौलाले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले नै उपसभामुख प्रकरण गिजोलेको आरोप लगाएका छन् । आइतबार सभामुखसहित दलका प्रमुख सचेतकहरूसँगको छलफलपछि सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै उनले उपसभामुख इन्दिरा रानाले कमजोरी गरेको रास्वपाले पनि स्वीकार गरिसकेको बताए ।

उनले सत्ता गठबन्धनको बैठकमा आफूहरूले अमेरिका जानका लागि अन्तरवार्ताको मिति सार्ने उपसभामुखको पत्रबारे छलफल गरेको तर विषयलाई उछाल्ने कुनै तयारी नगरेको पनि स्पष्ट पारे । तर‚ बन्द कोठामा भएको निष्कर्ष नै ननिकालिएको छलफलबारे संसद् बैठकमा रास्वपाका प्रमुख सचेतक सन्तोष परियारले प्रधानमन्त्री केपी शर्मा ओली लक्षित अभिव्यक्ति दिएपछि आफूहरूले राजीनामा माग्न बाध्य भएको सुनाए ।

‘एकाएक रास्वपाका प्रमुख सचेतकले फायर खोल्ने काम गर्नुभयो । एउटा जिम्मेवारी राजनीतिक दलले उपसभामुखजस्तो पदको हुर्मत लिनेगरी प्रसङ्ग निकाल्नुभयो। सत्तापक्षतर्फ हिलो छ्याप्ने काम गर्नुभयो,’ उनले भने ।

उनले उपसभामुखको कमजोरी भएकोले उनलाई बोक्ने कि नबोक्ने भन्ने प्रश्न उठेको बताए । तर, सत्तापक्षमा निचोडमा नपुगिसकेको उनको भनाइ छ । सभामुखसहितको बैठकमा बर्तौलाले परियारले नै कुरा राखेपछि आफूहरूले उपसभामुखको राजीनामा मागेको बताएका थिए ।

प्रधानमन्त्री राष्ट्रसङ्घ जाने तयारी र सदनको अधिवेशन अन्त्य गर्नेबारे छलफल भइरहेका बेला बेमौसमी कुरा निकालेर प्रतिपक्षीले गिजोलेको आरोप उनको छ ।

@रातोपाटी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0