६ कात्तिक, काठमाडौं। सभामुख देवराज घिमिरेले संसदीय मैत्री समूह गठनका विषयमा छलफल गरेका छन् ।

मंगलबार उनले संसदमा विचाराधीन विधेयकहरूका विषयमा छलफल गर्न राजनीतिक दलका प्रमुख सचेतक र सचेतक तथा संसदीय समितिका सभापतिहरूलाई बोलाएका थिए ।

सिंहदरवारस्थित सभामुखको कार्यकक्षमा भएको उक्त छलफलमा संसदीय मैत्री समूह गठनको विषयमा समेत छलफल भएको थियो। तर, कुनै सहमति भने जुट्न सकेको छैन ।

नेकपा एमालेका मुख्य सचेतक महेश बर्तौलाका अनुसार ४४ वटा देशमा संसदीय मैत्री समूह गठनको गृहकार्य अगाडि बढेको छ । राजनीतिक दलहरूले आफ्नो दलको सदस्य कुन देशको मैत्री समूहमा रहने भनेर पठाइसकेका छन् ।

संघीय संसद सचिवालयले संसदमा रहेको दलहरूको संसद संख्याको आधारमा कुन दलले कति वटा देशको मैत्री समूहको संयोजक पाउने भनेर समेत तय गरिसकेको छ ।

तय भए अनुसार नेपाली कांग्रेसले १४ वटा देशको संयोजक पाउनेछ। नेकपा एमालेले १२ वटा देशको संयोजक, माओवादी केन्द्रले ६ वटा, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले चार वटा देशको संयोजक पाउने तय भएको छ। बाँकी देशमा अन्य दलबाट संयोजक हुनेछन् ।

तर, कुन देशको संयोजक को हुने भन्ने विषयमा दलहरुका बीचमा कुरा नमिल्दा मैत्री समूह गठनले औपचारिक पाउन नसकेको हो ।

‘हामीले आफ्ना सदस्य पठाइसक्यौं । तर, संयोजक तय गर्न बाँकी छ’ एमालेका मुख्य सचेतक बर्तौलाले भने, ‘आजको बैठकमा पनि संयोजकको विषयमा छिटो निर्णय गरौं भन्ने कुरा भएको छ ।’

उनका अनुसार बुधबार बेलुकीसम्म छलफल गर्ने र सहमति नभए प्रक्रियाका आधारमा अगाडि बढ्ने तयारी छ ।

बर्तौला अगाडि थप्छन्, ‘भोलि बेलुकीसम्म हामी छलफल गर्छौं । यदि भएन भने एउटा प्रक्रियाबाट हामी सम्बन्धित दलहरूले नै लेखेर पठाउँछौं । त्यसको आधारमा सभामुखले सहजीकरण गर्ने कुरा भएको छ ।’

@अनलाइनखबर

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0