१२ कात्तिक, काठमाडौं । छानबिन समितिले असोज दोस्रो हप्ता धादिङको धुनीवेशी नगरपालिका–९ झ्याप्लेखोलाको पहिरोमा ठूलो मानवीय क्षति हुनुमा धादिङ प्रशासनको लापरबाही भएको निष्कर्ष निकालेको छ ।

असोज ११ र १२ वर्षासँगै आएको पहिरोले राजमार्गमा रोकिएका गाडीहरु पुरिँदा ३५ जनाको ज्यान गएको थियो । घटनाबारे छानबिन गर्न प्रहरी प्रधान कार्यालयले एसएसपी सिद्धिबिक्रम शाहको नेतृत्वमा समितिले गठन गरेको थियो ।

समितिले घटनास्थलको अवलोकन गर्नुका साथै स्थानीय र सवारी साधनसँग सम्बन्धित व्यक्तिहरुसँग सोधपुछ गरेको थियो । अब प्रतिवेदनलाई अन्तिम रुप दिएर बुझाउने तयारी गरिएको समितिका एक सदस्यले बताए ।

उनका सदस्यका अनुसार झ्याप्लेखोलामा ठूलो मानवीय क्षति हुनुमा धादिङ प्रशासनको कमजोरी देखिएको छ । भारी वर्षा हुने मौसम पूर्वानुमान महाशाखाको सूचनालाई गम्भीर रुपमा लिएर प्रतिकार्यको काम नगरेको पाइएको उनले बताए ।

‘मौसम पूर्वानुमान महाशाखाले जारी गरेको सूचनालाई लिएर कुनै छलफल तथा कार्य योजना समेत बनाएको देखिएन । सूचनालाई गम्भीर रुपमा लिएर काम नगर्दा ठूलो मानवीय क्षति भएको देखिन्छ’, ती अधिकृतले अनलाइनखबरसँग भने ।

त्यतिबेला धादिङको प्रमुख जिल्ला अधिकारी (सीडीओ)मा राजेन्द्रदेव पाण्डे थिए भने एसपीमा गौतम केसी थिए । सीडीओकै नेतृत्वमा जिल्ला विपद् व्यवस्थापन समिति रहन्छ । तर ठूलो वर्षा आउने पूर्व जानकारी हुँदैहुँदै सीडीओ पाण्डेले छलफल डाकेर प्रतिकार्यको काम नगरेको समितिले निष्कर्ष निकालेको छ ।

त्यसैगरी सीडीओ र प्रहरी प्रमुखबीच कुनै समन्वय समेत नभएको समितिले बताएको छ ।

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले नारायणगढ–मुग्लिन हुँदै नागढुंगासम्म सवारी चलाउन रोक लगाउने सूचना समेत जारी गरेको थियो । तर धादिङ प्रशासनले राजमार्गमा सवारी चलाउन रोक लगाएन ।

अनि, गोरखाबाट काठमाडौं आउँदै गरेको ना ४ ख २२७० नम्बरको बस, चितवनबाट काठमाडौं आउँदै गरेको बा २ ख १३४५ नम्बरको माइक्रो र लु १ ज ४५७७ नम्बरको विंगरलाई पहिरोले झ्याप्लेखोलामा पुरियो ।

घटना लगत्तै सीडीओ पाण्डे र एसपी केसीको जिम्मेवारी खोसिएको थियो । उनीहरुलाई जिम्मेवारीबाट हटाउँदै सीडीओमा सुमन घिमिरे र एसपीमा दीपेन्द्र शाहीलाई पठाइएको थियो ।

छानबिन अन्तिम चरणमा पुगेको केही दिनमै प्रतिवेदन बुझाउने तयारी समितिको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0