कैलालीमा सुधारगृहमा युवकको मृत्यु, निष्पक्ष अनुसन्धान गर्न अभिभावकको माग

२६ वैशाख, धनगढी । कैलालीमा सुधारगृहमा राखिएका एक युवकको मृत्यु भएको छ । उनका अभिभावकले मृत्यु शंकास्पद भएको भन्दै निष्पक्ष अनुसन्धान गर्न माग गरेका छन् ।

जिल्लाको घोडाघोडी नगरपालिका–४ भालुफाटामा रहेको नयाँ बाटो पुनर्स्थापना केन्द्र (सुधारगृह)मा २५ वर्षीय सुनिल शाहीको मृत्यु भएको प्रहरीले जनाएको छ ।

इलाका प्रहरी कार्यालय सुखडका प्रमुख प्रहरी नायब उपरीक्षक (डीएसपी) दिपेन्द्रकुमार पालले सुधार केन्द्रमा बस्दै आएका शाहीले एक तले भवनको छतबाट बुधबार राति हाम फालेको बताए । त्यसबाट घाइते भएका शाहीको उपचारका क्रममा घोडाघोडी अस्पतालमा उपचारका क्रममा मृत्यु भएको डीएसपी पालको भनाइ छ ।

शाहीको निधार, गर्धन, कम्मर र दुवै हातमा चोट लागेको देखिएको छ । डीएसपी पालले शाहीले सुधार केन्द्रबाट भाग्ने उद्देश्यले भवनको छतबाट हामफालेको बुझिएको बताउँदै घटनाबारे अनुसन्धान जारी रहेको बताए ।

तर, मृतकका परिवारले भने घटनाको प्रकृति हेर्दा शाहीको भवितव्य नभएर हत्या भएको हुनसक्ने भन्दै छानबिनको माग गरेका छन् ।

मृतकका बुवा धनराज शाहीले छोराको हत्या भएको जिकीर गर्दै निष्पक्ष अनुसन्धान गर्नुपर्ने बताए । उनले सुधार केन्द्रले विगत २५ दिनदेखि छोरालाई भेटघाट गर्न नदिइएको दाबी गर्दै कुटपिट गरेर छोराको हत्या गरिएको आरोप लगाए ।

शाहीलाई उनका अभिभावकले गत पुसमा सुधार केन्द्रमा राखेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *