जता रुखको छाया, उतै कक्षाकोठा

रुकुमपश्चिम, जेठ ३ गते । रुकुमपश्चिमको आठबिसकोट नगरपालिका–४ स्थित इन्द्रज्योति आधारभूत विद्यालयमा ७५ जना बालबालिका अध्ययनरत छन् । उनीहरूको कक्षाकोठा भनेको रुखको छहारी हो । घामलाग्दा रुखमुनि पढाइ हुन्छ, पानी पर्दा भने पढाइ हुँदैन । घामका कारण रुखको छाया जताजता सर्छ, उतै उतै विद्यार्थी सारेर पढाइ हुने गरेको छ ।

गत चैत १७ गतेको हावाहुरीले विद्यालयको छाना उडाएपछि उनीहरूको पठनपाठन रुखकै छहारीमा हुने गरेको छ । विद्यालयको तीनकोठे भवन डेढ महिनासम्म पनि मर्मत हुन सकेको छैन । मर्मतसम्भार हुनुको साटो थप लथालिङ्ग बन्दै गएको छ । गत कात्तिक १७ गतेको भूकम्पबाट जोगिएको विद्यालय भवनको छाना हावाहुरीले उडाएपछि पठनपाठनमा समस्या भएको हो । कक्षा १ मा अध्ययनरत छात्रा रितु चनेलले विद्यालय भवन नहुँदा विद्यालयनजिकैको सल्लाको रुखमुनि बसेर पढ्ने गरेको बताउनुभयो । कक्षा २ मा अध्ययनरत छात्र माइकल विष्टले विद्यालयमा भवन नहुँदा कहिले खुला चौरमा त कहिले रुखको छहारीमा बसेर पढाइ हुने गरेको दुःखेसो पोख्नुभयो । विष्टका अनुसार रुखले घाम छले पनि पानी नछेक्ने भएकाले पानी पर्नेबित्तिकै झोला बोकेर नजिकैका गाउँलेको घरमा ओत लाग्न जानुपर्ने अवस्था छ ।

विद्यालयमा प्रधानाध्यापक कल्पना बिएम विष्टले घाम लागेका बेला रुखको छहारी खोज्दै पढाउनुपर्ने बाध्यता रहेको बताउनुभयो । दिनमा तीन/चार पटक रुखको छायासँगै कक्षा सार्नुपर्ने अवस्था रहेको छ । अब वर्षा लाग्न थालेकाले कहाँ, कसरी पढाउने भन्ने चिन्ता थपिएको छ । उहाँले नयाँ शैक्षिक सत्र सुरु भएदेखि विद्यालयनजिकैको रुखको छायामा राखेर बालबालिकालाई पढाइरहेको बताउनुभयो ।

टहरामा कार्यालय

बालशिक्षादेखि कक्षा २ सम्म पढाइ हुने यस विद्यालयमा ४० जना छात्रा र ३५ जना छात्र छन् । विद्यालयको भवन नै लथालिङ्ग भएपछि कार्यालय भवन स्थानीयको टहरामा राखिएको छ । प्रशासनिक कार्यसम्पादन, कागजातहरूको सुरक्षा, हाजिरी रजिस्टरलगायतका महत्वपूर्ण सामान स्थानीयको टहरामा थन्काइएको प्रधानाध्यापक विष्टले जानकारी दिनुभयो ।

विद्यालयको भवन मर्मत तथा निर्माणका लागि कुनै पनि निकायबाट चासो नभएको गुनासो रहेको छ । विद्यालयको छानो उडाएको अवस्थासहितको फोटो र आवश्यक कागजातसहित वडा कार्यालय, नगरपालिका, शिक्षा कार्यालय, सामाजिक विकास कार्यालयमा निवेदन पेस गरिएको छ तर हालसम्म पनि कहीँकतैबाट माग सुनुवाइ हुन सकेको छैन । यस विषयमा आठबिसकोट नगरपालिकाका शिक्षा अधिकृत इन्द्रबहादुर विष्टले विद्यालयको छाना मर्मतका लागि आवश्यक सामग्री व्यवस्था गरिसकेको दाबी गर्नुभयो । प्रक्रियागत रूपमा केही ढिलाइ हुन पुगे पनि विद्यालयमा आवश्यक जस्तापातासहितका सामग्री पठाइसकिएको उहाँको भनाइ छ । चाँडै नै बालबालिकालाई भवनकै कक्षाकोठामा राखेर पढाइ सुचारु हुने शिक्षा अधिकृत विष्टले जानकारी दिनुभयो । @gorkhapatra

Leave a Reply

Your email address will not be published. Required fields are marked *