पलेंटी कसेर बसेर खानु पाचनका लागि कति फाइदाजनक ?

भुईंमा पलेंटी कसेर बसेर खाने नेपाली परम्परा नै हो । आधुनिक जीवनशैलीसँगै अहिले टेबल-कुर्सीमा बसेर खाने चलन व्यापक छ । यस्तोमा प्रश्न उठ्छ कुर्सीमा बसेर खानु राम्रो कि पलेंटी मारेर बसेर ?

आयुर्वेदका अनुसार भुईंमा पलेटी कसेर बसेर खाना खानुलाई राम्रो मानिन्छ । यसरी पलेंटी कसेर खानुलाई योगमा सुखासन पनि भनिन्छ । यसरी बसेर खाँदा मनमा एकाग्रता पैदा हुने र मस्तिष्कमा आराम मिल्नुका साथै मानसिक तनाव कम हुन्छ । यसरी खाँदा खाना पचाउन पनि राम्रो मद्दत गर्छ । साथै बसेर खानु पाचन प्रणालीको लागि उत्तम अभ्यास मानिन्छ ।

किन राम्रो पलेंटी कसेर बसेर खानु ?

मुटुबाट निस्केको रगत शरीरभर प्रवाह हुन्छ । तर खाना खाँदाखेरि रक्तसञ्चारको आवश्यकता सबैभन्दा बढी आमाशय र आन्द्राको भागमा हुन्छ, जुन पलेंटी कसेर खाँदा पूरा हुन्छ । किनभने यसबेला घुँडाको तल खुट्टा मोडिएको हुन्छ, जसकारण खुट्टातिर जाने रक्तसञ्चार शरीरको मध्यभागमा अर्थात् आमाशय र आन्द्राको भागमा जान्छ । यसकारण खाना सजिलै पच्छ ।

तर कुर्सीमा बसेर वा उठेर खाना खाँदा पाचन प्रणालीलाई चाहिने पर्याप्त रक्त सञ्चार हुन पाउँदैन । फलस्वरुप खाना सजिलै पच्दैन ।

पलेंटी कसेर खाना खानाले भ्यागस नर्भ (एकप्रकारको नसा) बढी सक्रिय हुन्छ । यसले पाचन प्रणालीको लागि चाहिने पर्याप्त पाचन रसलाई बढाउँछ र खाना सजिलै पचाउन मद्दत गर्छ । त्यस्तै पलेंटी कसेर खाँदा शरीर पटक-पटक झुक्ने र उठ्ने हुन्छ, जसले पाचन प्रक्रिया सक्रिय हुन्छ र खाना छिटो पचाउन मद्दत मिल्छ । यसले ढाडको तल्लो भाग, पेट र पेटका मांसपेशीहरू तन्किन्छन्, जसले पाचन प्रणालीले आरामसँग काम गर्न सहज गराउँछ ।

पलेंटी कसेर बस्दा पेटमा दबाब पर्ने भएकाले थोरै खाना खाँदा पनि पेट भरिएको अनुभूति हुन्छ । जसकारण खाना ठिक्क मात्रामा खाइने भएका पाचन प्रकिया सहज हुन्छ । साथै मोटोपनको समस्याबाट जोगिन सकिन्छ ।

पलेंटी कसेर बसेर खाँदा प्रत्येक गाँसको लागि शरीर झुक्ने र उठ्ने भएकाले मेरुदण्डको व्यायाम समेत हुन पाउँछ ।

पलेंटी कसेर खाना खाँदा विभिन्न रोगबाट समेत बच्न सकिन्छ । अपच, ग्यास्ट्रिक, कब्जियत, पेट फुल्ने लगायत पेटसम्बन्धी समस्यामा यसले राहत पुर्‍याउँछ । पलेंटी कसेर खाँदा शरीरको मेरुदण्ड लचिलो हुने हुनाले ढाड दुख्ने, कम्मर दुख्ने समस्याबाट जोगाउँछ । तर कसैलाई घुँडा दुख्ने वा कम्मर दुख्ने समस्या भएमा भने पलेंटी कसेर बसेर खानु हुँदैन । यसले नकारात्मक असर पर्न सक्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *