मध्य र पश्चिम तराईमा ३१ जेठसम्म तातो हावा चल्ने

२९ जेठ, काठमाडौं । नेपालको पूर्वी सिमाना कोशी प्रदेशमा मनसुन भित्रिसके पनि मध्य र पश्चिमी तराईका भूभागमा भने अत्यधिक गर्मी छ ।

अझै तीन दिनसम्म मध्य र पश्चिमी तराईका भूभागमा तातो हावाको लहर चल्ने सम्भावना छ । त्यसैले जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले आज विशेष बुलेटिन जारी गर्दै सतर्कता अपनाउन भनेको छ ।

महाशाखाले आज बिहान ११ बजे जारी गरेको विशेष बुलेटिनमा लेखिएअनुसार जेठ २९, ३० र ३१ गतेसम्म तातो हावा तथा तातो लहरको सम्भावना रहेको उल्लेख छ ।

महाशाखाका अनुसार मधेश र बागमती प्रदेशको तुलनामा सुदूरपश्चिम र लुम्बिनी प्रदेशका तराई भू–भागमा बढी गर्मी छ ।

ती स्थानहरुमा बिगत केही दिनदेखि अधिकतम तापक्रम ४० डिग्री सेल्सियस वा सोभन्दा बढी पनि मापन गरिएको छ ।

कोशी प्रदेशमा भने मनसुनी प्रणाली भित्रिसकेको छ । यस वर्ष सरदर मिति (जुन १३) भन्दा तीन दिन अघि नै मनसुन नेपालमा भित्रिएको हो ।

बेलाबेला पानी परिरहेकाले कोशी प्रदेशका जिल्ला शीतल छन् । बाढी पूर्वानुमान महाशाखाले त भोलिदेखि कोशी प्रदेशका नदीहरुमा बाढी आएर जलसतह बढ्ने सूचना नै जारी गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *