१९ मंसिर, काठमाडौं । मदन भण्डारी राजमार्गको घोराही–तुल्सीपुर खण्ड चार लेनमा विस्तार हुने भएको छ ।
राष्ट्रिय योजना आयोगले मदन भण्डारी राजमार्गको २१.५८ किलोमिटर सडक ४ लेनमा विस्तार गर्न बहुवर्षीय ठेक्का सहमति प्रदान गर्ने निर्णय गरेको छ । आयोगको १६ मंसिरमा बसेको बैठकले यस्तो निर्णय गरेको हो ।
यो सडक स्तरोन्नति गर्न भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले ३ अर्ब ९९ करोड ४९ लाख रुपैयाँ बराबर बहुवर्षीय ठेक्का सहमति माग गरेको थियो ।
सोही बैठकले बुढीगंगा जलविद्युत आयोजनाका लागि समेत ७ अर्ब ६५ करोड ९५ लाख रुपैयाँ बराबर स्रोत सहमति प्रदान गर्न अर्थ मन्त्रालयमा सिफारिस गरेको छ ।
यो आयोजनालाई चालु आर्थिक वर्ष ३ अर्ब २८ करोड रुपैयाँ बजेट विनियोजन भएको छ । उता, आयोगले प्रगन्ना तथा बड्कापथ सिँचाइ आयोजनाका लागि समेत १ अर्ब २ करोड २९ लाख बराबर स्रोत सहमतिका लागि अर्थ मन्त्रालयमा सिफारिस गर्ने निर्णय गरेको छ ।