पाँचथरको फिदिममा आयोजित ११औं फाल्गुनन्द गोल्डकपको उपाधि चर्च ब्वाईज फुटबल क्लबले जितेको छ।
सोमबार फिदिम माविको खेलमैदानमा सम्पन्न फाइनल खेलमा चर्च ब्वाईजले मछिन्द्र फुटबल क्लबलाई ट्राईब्रेकरमा ५–४ गोल अन्तरले पराजित गर्दै च्याम्पियन बनेको हो।
निर्धारित समयमा दुवै टोलीले २–२ गोल गर्दै खेललाई बराबरीमा पुर्याएका थिए। खेलको पहिलो हाफको अन्त्यतिर (४५औं मिनेटमा) मछिन्द्रका बिजु भुजेलले टिमको लागि पहिलो गोल गरेका थिए।
त्यसपछि ७८औं मिनेटमा चर्च ब्वाईजका छिरिङ लामाले जवाफी गोल फर्काए। मछिन्द्रका शनिस श्रेष्ठले थप एक गोल गर्दै टिमलाई २–१ को अग्रता दिलाए पनि अन्तिम समयमा चर्च ब्वाईजका समिर तामाङले बराबरी गोल गर्दै खेललाई ट्राईब्रेकरमा धकेले।
ट्राईब्रेकरमा मछिन्द्रका दयानन्द एलनबमले पेनाल्टी चुकाउँदा मछिन्द्रले पराजय भोग्यो। मछिन्द्रका देवेंद्र तामाङ, शनिस श्रेष्ठ, सौरभ सुब्बा, र समीराज थोकरले पेनाल्टीमा गोल गरे भने चर्च ब्वाईजका सुजन डंगोल, छिरिङ लामा, फाकुन्ले अबियुमी, रोहन कार्की, र एकराज बुढाथोकीले सबै पेनाल्टीमा गोल गर्दै टिमलाई जिताए।
च्याम्पियन बनेको चर्च ब्वाईजले १० लाख रुपैयाँ पुरस्कार जित्यो भने उपविजेता मछिन्द्र फुटबल क्लबले ५ लाख रुपैयाँमा चित्त बुझायो।