१९ पुस, गोरखा । बेनीघाट–आरुघाट हुँदै चीनसँगको सिमाना लार्के भञ्ज्याङसम्म जोड्ने सडक निर्माणको काम धमाधम भइरहेको छ । कूल १५४ किलोमिटर लामो सडकमध्ये ९७ किलोमिटर खण्डमा चारपांग्रे गाडी गुड्न मिल्ने भएको छ ।
बेनीघाटदेखि हावाडाँडासम्मको ६२ किलोमिटर खण्ड सडक विभागले बनाएपछि हावाडाँडादेखि लार्केभञ्ज्याङसम्मको बाँकी ९२ किलोमिटर खण्ड नेपाली सेनाले सुम्पिएको थियो । त्यसमध्ये नेपाली सेनाले हालसम्म ३५ किलोमिटर ट्र्याक खोलिसकेको छ ।
हावाडाँडादेखि चुमनुब्री गाउँपालिकाको पाङसिङसम्म ट्रयाक खुलेर सवारी सञ्चालनमा आइसकेको छ । हावाडाँडादेखि दोभानसम्मको १८ किलोमिटर खण्ड नेपाली सेनाले सडक विभागलाई हस्तान्तरण समेत गरिसकेको छ । सहज रुपमा सवारी साधन सञ्चालनका लागि माछीखोलामा बेलिब्रिज राखिएको छ ।
अहिले पाङसिङदेखि माथि ट्रयाक खोल्ने काम भइरहेको छ । सडकलाई चार खण्डमा विभाजन गरी काम भइरहेको नेपाली सेनाको सडक निर्माण कार्यदलले जनाएको छ । कार्यदलका अनुसार पाङसिङ भिर, न्याक फेदी, रुविनाला र पेवा भिरमा ब्लाष्टिङको काम भइरहेको छ ।
यस वर्ष दुई किलोमिटर ट्रयाक खन्नका लागि नेपाल सरकारबाट सात करोड बजेट विनियोजन भएको छ । बजेट कम भएको भन्दै थप गरिदिन चुमनुब्री गाउँपालिकाले माग गर्दै आएको छ । गत वर्ष दश करोड रकम विनियोजन भएको थियो ।
२०५२ सालमा बेनीघाट–आरुघाट–आर्खेत खण्डमा निर्माणको काम सुरु भएको थियो । आर्थिक वर्ष २०६३/६४ मा बेनीघाट–आरुघाट–लार्केभञ्ज्याङ सडक नामकरण गरी सडक विभागलाई निर्माणको कार्यभार दिइएको थियो । सडक निर्माणको सुरुआत भने आव २०६६/६७ मा मात्र भएको थियो । तर हावाडाँडादेखि करिव १ किलोमिटर क्षेत्र कडा चटानयुक्त भिर परेकाले पाँच वर्षसम्म ट्रयाक खोल्ने कार्य अगाडि बढ्न सकेको थिएन ।
२०७३ मंसिर २६ गतेको मन्त्रिपरिषद बैठकले सडक निर्माणको काम नेपाली सेनालाई दिने निर्णय गरेको थियो । सो निर्णयअनुसार २०७४ साल वैशाखमा सडक विभागले नेपाली सेनालाई कार्यभार सुम्पिएको हो । नेपाली सेनाले काम भने २०७४ वैशाख महिनाबाट शुरु गरेको थियो ।
उक्त सडक धार्चे गाउँपालिकाको लापुबेसी, माछाखोला, जगत हुँदै चुमनुब्री गाउँपालिकाको सिर्दिवास, बिही, प्रोक, सामागाउँ, साम्दो हुँदै चीनसँगको सिमाना लार्के भञ्ज्याङ जोडिने छ ।
उक्त सडकलाई उत्तरी गोरखाको लाइफलाइनको रुपमा हेरिएको छ । तर सरकारले पर्याप्त बजेट विनियोजन नगरेको सो क्षेत्रका बासिन्दाको गुनासो छ ।
@onlinekhabar