८ माघ, काठमाडौं । धरान उपमहानगरपालिकाका मेयर हर्कराज साम्पाङले केपी शर्मा ओलीसँग मंगलबार सिंहदरबारमा भेट्न पाएनन् ।
धरानको खानेपानी समस्या समाधानका लागि गाग्रो बोकेर मंगलबार सिंहदरबार पुगेका मेयर साम्पाङले खानेपानीमन्त्री प्रदीप यादव र अर्थमन्त्री विष्णु पौडेलसँग भेट गरे पनि प्रधानमन्त्री ओलीसँग भने भेट्न नपाएका हुन् । तर उनले आजै प्रधानमन्त्री केपी शर्मा ओलीलाई पनि भेटेर अर्को पत्र बुझाउने बताएका थिए ।
यता, प्रधानमन्त्री सचिवालय स्रोतले भन्यो, ‘प्रधानमन्त्री ज्यूको आज उहाँ (हर्कराज सम्पाङ)सँग भेटघाटको कार्यक्रम नै तय भएको थिएन। प्रधानमन्त्रीको आज त विहानैदेखि भेटघाटको कार्यक्रम सेड्युड टाइट थियो। त्यसकारण पनि भेट हुन सकेन।’
यसअघि मेयर साम्पाङले खानेपानीमन्त्री प्रदीप यादव र अर्थमन्त्री विष्णु पौडेलसँग भेट गरेर आफ्ना समस्या राखेका थिए, जसमा अर्थ र खानेपानीबाट सकारात्मक कुरा आएको सञ्चारकर्मीलाई बताएका थिए ।
मेयर साम्पाङले बोकेर गएको रित्तो गाग्रो गेटबाटै प्रहरीले खोसेको थियो । जसबारे मेयर साम्पाङले गृह मन्त्रालयको विषय भएकाले धेरै नबोल्ने प्रतिक्रिया दिए ।
तर आफू पानीको मुद्दालाई राजनीतिक नभइ विकास माग्न आएको बताएका छन् ।
‘पानीको मुद्दालाई राजनीतिक मुद्दा खानेपानी चाहिँ सरकारले तुरुन्तै बनाउनुपर्छ । खानेपानी विकास होइन, म विकास माग्न आएको होइन,’ साम्पाङले भने ।