काठमाडौँ । त्रिभुवन विश्वविद्यालय शिक्षाशास्त्र संकायका डीन प्राडा बेदराज आचार्यले सरकारी नम्बर प्लेटको गाडी घरायसी काममा प्रयोग गर्दै आएकाे भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेको छ । त्रिवि संयुक्त विद्यार्थी सङ्घर्ष समितिको तर्फबाट छानबिनको माग गर्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेको हाे ।

उनीमाथि सरकारी नम्बर प्लेटको गाडी निजी प्रयोजनमा लगाइरहेको भन्दै निलम्बन गरेर छानबिन गर्न माग गरिएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको स्वामित्वमा रहेको बागमती प्रदेश ०१ ००२ झ ५८१३ नम्बरको Hundai Eon Magna गाडी २०८० जेठ २८ गते त्रिवि शिक्षा शास्त्र सङ्कायलाई हस्तान्तरण गरिएको थियो ।

उक्त गाडी तत्कालीन त्रिवि ग्र्याजुएट स्कुल अफ एजुकेसनको निर्देशकको जिम्मेवारीमा रहँदा आचार्यले चढ्दै आएका थिए । अहिले उनी शिक्षा शास्त्र संकायको डीन छन् । डीन बनेपछि उनले उक्त गाडी घरमा राखेर चढ्दै आएका हुन् ।

आफैँले बुझेर त्रिविको नाममा नियमानुसार दाखिला नगरी प्राप्त गरेकै दिनदेखि आफ्नो घरायसी प्रयोजनमा लगाइएको एक उजुरीकर्ताले बताए । उक्त गाडी घरायसी प्रयोजनमा लगाएर थोत्रो बनाइसकेको ती उजुरीकर्ताको भनाइ छ ।
डेढ वर्षदेखि सरकारी नम्बर प्लेटको गाडीको दुरुपयोग गर्दै आएको उनलाई पदबाट निलम्बन गरेर अनुसन्धान गर्न माग गरिएको हो । सरकारी गाडीको दुरुपयोग गरेर त्रिविको नाममा दाखिला गर्न समेत माग गरेका छन् ।

विश्वविद्यालयले प्रत्येक संकायका डीनहरूलाई गाडी सुविधा उपलब्ध गराउँदै आएको छ । सोही अनुसार डीन आचार्यले समेत विश्वविद्यालयको तर्फबाट उपलब्ध गराएको अर्को गाडी चढ्दै आएका छन् । तर, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट प्राप्त गाडी घरायसी प्रयोजनका लागि राखिएको उजुरीकर्ताहरूको दाबी छ । यो विषयमा डीन आचार्यको तर्फबाट कुनै प्रतिक्रिया आएको छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0