काठमाडौँ । सरोकारवालाहरुले नेपालले आईटी जनशक्ति उत्पादन गर्ने हो भने वार्षिक १० खर्बभन्दा बढी आम्दानी गर्न सकिने बताएका छन् । नेपाली कांग्रेसको उद्यमशील र साना तथा मझौला व्यवसायी विकास विभागले आयोजना गरेको सम्मेलनमा वक्ताहरुले यस्तो बताएका हुन् ।

इनोभेटिभ नेपाल (आईएनजी) ग्रुपका प्रमुख सुलभ बुढाथोकीले नेपालको आइटी क्षेत्रमा धेरै अवसर भएकाले दक्ष जनशक्ति निर्माणमा लगानी आवश्यक भएको र हामीले आवश्यकता अनुसार जनशक्ति उत्पादन गर्नसकेमा वार्षिक १० खर्बभन्दा बढीको आईटी सेवा निर्यात गर्न सकिने बताए।

उनले भने, “अहिले हामीले दक्ष जनशक्ति निर्माणको लागि प्रयत्न गरिरहेका छौं । हरेक आईटी कलेजहरुमा कोटा नछुट्याइ सहजै आईटी पढन सकिने व्यवस्था गर्नुपर्ने नीति अवलम्बन गर्नुपर्छ भनेर लविङ गरिरहेका छौं ।”
अहिले विश्वभर सबैभन्दा बढी आर्थिक उपार्जनको स्रोत बनेको पर्यटन क्षेत्रलाई पनि आईटीले उछिनिसकेको अवस्था रहेको उनले बताए ।

युवा पुस्ताले पनि चुनौतीबाट भाग्ने नभएर त्यसलाई अवसरको रुपमा लिनुपर्ने उनको राय छ ।

त्यसैगरी त्रिभुवन विश्वविद्यालयका डीन प्रा. डा. महाननन्द चालिसेले अहिलेको समयमा प्राविधिक शिक्षासहितको व्यवसायिक ज्ञानमा राज्यले ध्यान दिनुपर्ने बताए। उनले पढाइमा सरकारले प्राविधिक पक्षमा ध्यान दिनुपर्ने बताएका हुन् । जसका लागि त्रिभुवन विश्वविद्यालयले नीरन्तर आफ्नो तफबाट काम गरिरहेको पनि उनले जानकारी गराए ।

अहिले राज्यले विश्वविद्यालयसँग सहकार्य गरेर आईटी क्षेत्र र उद्यमका विभिन्न क्षेत्रमा दक्ष जनशक्ति उत्पादन गर्नेतर्फ ध्यान दिनुपर्ने विषय प्रा.डा. चालिसेले बताए ।

सीनासका कार्यकारी निर्देशक मिर्गेन्द्र कार्कीले परिवर्तनशील समय अनुसार सपना देख्ने, लगानी गर्ने, र प्रयोग गर्ने क्षेत्रलाई छुट्याएर त्यसको ब्रान्डीङसहितको प्रचार गर्न आवश्यक भएको बताए। उनले देशको भुगोल अनुसारको उत्पादित सामग्रीको राज्यले प्रबद्र्धन गर्न सकेको अवस्थामा हामी समग्र आर्थिक रुपान्तरण गर्न सहज हुने बताएका छन् ।

योङ इनोभेसनका संस्थापक विभूषण बिस्टले राज्यले आईटी क्षेत्रलाई समेट्ने गरी नीति ल्याएको अवस्थामा अहिलेको तुलानामा पाँच गुणा बढी जनशक्ति उत्पादन गर्न सकिने र त्यही अनुसार सेवा निर्यात गर्न सकिने बताए ।

जुनसुकै फिल्डमा पनि समस्याको समाधान गर्न सक्ने क्षमता र जनशक्तिको आवश्यकता रहेको उनले औंल्याए । ललितपुरमा बुधबारदेखि सुरु भएको सम्मेलनले भर्खरै व्यवसाय प्रारम्भ गर्ने उद्यमी, व्यवसायीहरूलाई प्रोत्साहन गर्नुका साथै व्यवसायको प्रवद्र्धन समेत हुने उद्यमशील र साना तथा मझौला व्यवसायी विकास विभागकी संयोजक उर्मिला थपलियाले बताइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0