हामी मध्ये धेरैले कुनै न कुनै बेला प्लास्टिक वा कागजको डिस्पोजेबल गिलासमा पानी, चिया वा कफी पिएकै हुनुपर्छ। विवाह भोज होस् वा घुम्ति चिया पसल, यस्ता ठाउँमा डिस्पोजेबल कपको प्रयोग भएको हुन्छ।

यी कपहरू सजिलै उपलब्ध हुन्छन् र एक पटक प्रयोग गरेपछि पुन प्रयोग गरिँदैन। जसले गर्दा सफा गर्नुपर्ने झन्झट पनि हुने भएन । तर, यस कपको प्रयोगले स्वास्थ्यमा नकारात्मक असर गर्छ भन्ने कुराको अध्ययन भारतीय प्रविधि संस्थानले गरेको छ।

पानी, चिया वा कफीलाई लामो समयसम्म राख्नका लागि कागजको कपलाई भित्री भागमा प्लास्टिक वा मैनको पातलो तह लेपन गरिएको हुन्छ। जब हामी ती कपमा तातो पेय पदार्थ राख्छौँ, यो कोटिङ पग्लन थाल्छ । जसका कारण पेय पदार्थमा प्लास्टिकका साना कण र हानिकारक रसायन मिसिएर शरीरमा प्रवेश गर्न सक्छ।

वैज्ञानिक अनुसन्धानले कागजको कपमा तातो पेय पदार्थ खन्याएपछि माइक्रो प्लास्टिक र रसायनहरू निस्कन सक्छ भनेर देखाउँछ। यी कणहरू लामो समयसम्म शरीरमा जम्मा भएर क्यान्सरजस्ता गम्भीर रोग निम्त्याउँन सक्छ।

कोटिङ पेपर कपमा प्रयोग हुने रसायनहरूले हार्मोनल असन्तुलन पनि निम्त्याउन सक्छ । यसले थाइरोइड र प्रजनन क्षमतामा नकारात्मक असर पार्न सक्छ । पेपर कप वातावरणका लागि पनि हानिकारक छ। यी ‘बायोडिग्रेडेबल’ हुँदैनन् र यसमा भएको प्लास्टिकको कारण, तिनीहरूलाई पुनः प्रयोग गर्न गाह्रो छ।

अनुसन्धानले के भन्छ ?

टाइम्स अफ इन्डियामा प्रकाशित एक अध्ययनका अनुसार यदि पेपर कपमा दिनमा तीन कप चिया वा कफी पिइन्छ भने हजारौँ माइक्रो प्लास्टिक कणहरू शरीरमा प्रवेश गर्न सक्छन् । यसले पाचन प्रणालीलाई मात्र हानी गर्दैन, तर शरीरका अन्य अङ्गहरूमा पनि नकारात्मक प्रभाव पार्न सक्छ । त्यसैले यदि अफिसमा चिया पिउनुहुन्छ भने, स्टिल वा सिसाको कप साथमा राख्नु राम्रो हुन्छ यो स्वास्थ्य र वातावरण दुवैका लागि राम्रो विकल्प हो । पेपर कपको प्रयोग कम गर्नुपर्छ।

सम्भव भएसम्म, पेपर कपको सट्टा पुनः प्रयोग गर्न मिल्ने कपहरू प्रयोग गर्नुपर्छ । आजकल बजारमा ‘बायोडिग्रेडेबल’ कपहरू उपलब्ध छन् । तिनीहरूलाई प्रयोग गरेर, स्वस्थ रहन सकिन्छ र वातावरणको सुरक्षा पनि गर्न सकिन्छ।

पेपर कपहरू सुविधाजनक त हुन्छन् । तर, तिनीहरूको अत्यधिक प्रयोग स्वास्थ्य र वातावरण दुवैको लागि हानिकारक हुन सक्छ। त्यसैले पेपर कपको सट्टा दिगो र सुरक्षित विकल्प प्रयोग गर्नुपर्छ । यसले हाम्रो स्वास्थ्यको साथै वातावरणलाई पनि बचाउन सकिन्छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0